रुकुम पश्चिम, १२ पुस । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै घरको जग खन्ने क्रममा शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ।
स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ जमिनमुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएको हो।
उक्त वस्तु देखिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तो देखिएको छ।
“स्थानीयको सूचनापछि तत्काल प्रहरी टोली परिचालन गरी घटनास्थललाई सुरक्षित घेरामा राखिएको छ,” पुनले जानकारी दिए। उक्त शङ्कास्पद विस्फोटक पदार्थलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
राति भइसकेकाले सुरक्षा व्यवस्था कडा बनाइएको र आज बिहान सेनाको डिस्पोजल टोलीले उक्त बमलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको पुनले बताए।
विगतमा सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले उक्त विस्फोटक पदार्थ द्वन्द्वकालमै छुटेको हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि, यसको आधिकारिक पुष्टि भने नेपाली सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुने प्रहरीले जनाएको छ।
