भर्खरै : Sorry, your browser does not support inline SVG.

चिनी मिलको मूल्य प्रतिक्विन्टल ६७५, क्रसरको ६०० मात्रै

चिनी मिलको मूल्य प्रतिक्विन्टल ६७५, क्रसरको ६०० मात्रै

सर्लाही, ३० पुस ।  माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानलाई यतिबेला सख्खर (गुड) बनाउने चटारो बढेको छ। चाडपर्वको मुखमा नगदको जोहो गर्नुपर्ने बाध्यताले किसानहरू सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगतर्फ आकर्षित हुन थालेका छन्।

हाल चिनी मिलहरूले उखुको मूल्य प्रतिक्विन्टल ६७५ रुपैयाँसम्म तोकेका छन्। तर, स्थानीय सख्खर उद्योग (क्रसर) ले भने प्रतिक्विन्टल ६०० रुपैयाँ मात्रै दिने गरेका छन्। प्रतिक्विन्टल ७५ रुपैयाँ कम पाए पनि किसानहरू स्थानीय उद्योगमै उखु बेच्न बाध्य भएका छन्।

यसको मुख्य कारण भुक्तानीको ढिलाइ हो। चिनी मिललाई उखु बेचेपछि भुक्तानी पाउन सातदेखि आठ महिना कुर्नुपर्ने अवस्था रहेको किसानहरू बताउँछन्। तर, स्थानीय सख्खर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्।

एक स्थानीय किसान भन्छन्, “मिललाई उधारो दिएर महिनौं कुर्नुभन्दा अलि सस्तोमै भए पनि १५ दिनमै पैसा आउँदा घरखर्च, बालबच्चाको पढाइ र चाडपर्व टार्न सजिलो हुन्छ।”

नगद अभाव, महँगी र चाडपर्वको दबाबका कारण किसानहरूका लागि तत्काल पैसा पाउनु नै ठूलो प्राथमिकता बनेको छ। यही कारणले चिनी मिलको उच्च मूल्यभन्दा पनि क्रसरको छिटो भुक्तानी किसानका लागि ‘प्यारो’ बनेको छ।

 


Thali Mobile Pvt.Ltd.