पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

मुख्य बुँदाहरू

पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप ।

अख्तियारले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

४० लाख रुपैयाँको योजनामा मापदण्डविपरीत निर्माण भएको आरोप ।

८ लाख ८ हजार ६८० रुपैयाँ बराबरको बिगो दाबी ।

तत्कालीन उपाध्यक्ष र वडाध्यक्षविरुद्ध कैद तथा जरिवानाको माग ।

काठमाडौं, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पलाँता गाउँपालिकाले बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी–फागोटी सडक निर्माण का लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तोकिएको मापदण्डभन्दा कम निर्माण कार्य गरी सार्वजनिक रकमको दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन तथा सहायक लेखापाल मुनिप्रसाद प्याकुरेल विरुद्ध जनही ८ लाख ८ हजार ६८० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै, तत्कालीन सबइन्जिनियर विनोदकुमार बम, नन्दबहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम तथा सचिव कमलबहादुर बम विरुद्ध पनि समान बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

यसैगरी, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नं. ९ का तत्कालीन वडाध्यक्ष टक्कबहादुर बम विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.