भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

शीतलहरको प्रभावः राजविराजसहित सप्तरीका पालिकामा विद्यालय बिदा

शीतलहरको प्रभावः राजविराजसहित सप्तरीका पालिकामा विद्यालय बिदा

मुख्य बुँदा 

शीतलहरका कारण सप्तरीमा जनजीवन प्रभावित

राजविराज, महादेवा र अग्नीसाइर कृष्णासवरणमा विद्यालय बिदा

पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द

यसअघि डाक्नेश्वरी र राजगढमा पाँच दिन बिदा

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

सप्तरी, १५ पुष। शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि सप्तरी जिल्लाको राजविराजसहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। चिसो बढ्दै गएपछि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचनाअनुसार नगरपालिकाभरिका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिन बिदा दिइएको छ।

यस्तै, महादेवा गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डलले जारी गरेको सूचनामा चिसोको असरले बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले बिदा दिइएको उल्लेख छ।

त्यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार पालिकाअन्तर्गतका सबै सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।

यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पनि पुस १८ गते शुक्रबारसम्म पाँच दिनका लागि सबै सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइसकेका छन्। साथै, बोदेवरसाइन नगरपालिकाले पनि बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म जाडो बिदा दिँदै विद्यालय बन्द गराएको थियो।

सप्तरी जिल्लामा शीतलहरका कारण बिहान–बेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने अवस्था रहेको छ। यसले बालबालिका, ज्येष्ठ नागरिक तथा पशु चौपायामा समेत असर पुर्‍याएको छ।

चिसो बढेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि बढ्दै गएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामीको संख्या बढिरहेको अस्पताल प्रशासनले जनाएको छ। खासगरी रुघाखोकी, ज्वरो र दमका बिरामी उपचारका लागि आउने गरेका छन्। जिल्लाका अन्य स्वास्थ्यचौकीहरूमा पनि बिरामीको चाप बढेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.