स्थानीय तह अधिकार सम्पन्न र बलियो भयो भने मात्र प्रजातन्त्र बलियो हुनेः सुनिल प्रजापति 

स्थानीय तह अधिकार सम्पन्न र बलियो भयो भने मात्र प्रजातन्त्र बलियो हुनेः सुनिल प्रजापति 
काठमाडौं । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानीय तहलाई सक्षम र अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत संघीयता कार्यान्वयन सम्बन्धी विविध विषयहरुमा मन्त्री तथा सरोकारवालाहरुको उपस्थितिमा ‘संघीय शासन व्यवस्थामा स्थानीय तहहरुका असल अभ्यास, समस्याहरु तथा आगामी कार्यदिशा’ विषय १० औं संवाद सृखला कार्यक्रममा स्थानीय तह अधिकार सम्पन्न र बलियो भयो भने प्रजातन्त्र बलियो हुने र जनता पनि बलिया हुने धारणा राखेका हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रजापतिले संघीय शासन व्यवस्थामा स्थानीय तहहरुका असल अभ्यास, समस्या तथा आगामी कार्यदिशा’ बारे कार्यपत्र प्रस्तुत गर्नुभएको हो । उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण गर्नुपर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शिक्षा–स्वास्थ्य निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर र आर्थिक समानता आदि समाजवादी व्यवस्थाको प्रमुख विशेषताहरु भएको बताउँदै उहाँले समाजवादी देशहरु जस्तै क्युवा, चीनलगायतका देशको शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणका कार्यहरुबाट नेपालले धेरै कुरा सिक्न सकिने तर्क गर्नुभयो । 
नेपालमा संघीयता सफल कार्यान्वयनको निम्ति संघीयताका सकारात्मक र नकारात्मक पक्षबारे व्यापक छलफल र अन्तरक्रिया आवश्यक भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तह आ—आफ्नो क्षेत्रभित्र काम गर्न स्वायत्त र स्वतन्त्र भएको हुँदा औचित्यहीन जिल्ला समन्वय समिति खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउन कर्मचारीको भर्ना, स्थायी र बढुवाको अधिकार स्थानीय तहलाई दिइनुपर्छ भन्दै उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई जनताको आवश्यकता र प्राथमिकता थाहा हुने हुँदा योजना छनोटको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै दिइनु पर्छ ।’
भक्तपुर नगरपालिकाले शिक्षामा ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी हालसम्ममा ४१ हजार ७९८ जनशक्ति उत्पादन गरिसकेको, स्वास्थ्यअन्तर्गत ख्वप अस्पताल सञ्चालन गरी ७५ जिल्लाका बिरामीहरुलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान, विकास निर्माण कार्यअन्तर्गत प्राविधिक लागत अनुमानभन्दा धेरै कम खर्चमा उपभोक्ता समितिमार्फत विकास निर्माण तथा सम्पदा संरक्षण कार्यहरु सम्पन्न गर्दै आइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारहरुको विकासमा नगरपालिकाअन्तर्गतका कलेजहरुले निरन्तर काम गर्दै आएको बताउँदै उहाँले समाजवादमा राज्यलाई बलियो बनाउने नीति लिइन्छ भन्नुभयो । कार्यक्रममा संघीय मामिला मन्त्रालयका मुख्य सचिव भरतमणि सुवेदीले नेपालमा संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न सरोकारवालाहरुबीच आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका अभ्यासहरु देशकै लागि उदाहरणीय भएको बताउँदै उहाँले संविधान र कानुनले दिएको अधिकारभित्र रही स्थानीय तहहरुले आफ्नो कार्यसम्पादनलाई अगाडि बढाउन सके देशले सजिलै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कार्यक्रममा संघीय मामिला महाशाखाका प्रमुख सुमन दाहालले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे प्रष्ट पार्दै भक्तपुर सुशासनको क्षेत्रमा अब्बल तरिकाले सञ्चालन भइरहेको कुरा अवगत गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.