भर्खरै : Sorry, your browser does not support inline SVG.

हाम्रो परम्परा, हाम्रो पहिचानः देउडा सँस्कृती जोगाउँदै दैलेखका नयाँ पुस्ता (भिडियो)

हाम्रो परम्परा, हाम्रो पहिचानः देउडा सँस्कृती जोगाउँदै दैलेखका नयाँ पुस्ता (भिडियो)

काठमाडौं । हाम्रो सँस्कार, सँस्कृती, रितीरिवाज, परम्परामाथि प्रहार भइरहेको भन्दै दैलेखका नयाँ र पुरानो पुस्ता यतिबेला देउडा सँस्कृतिको संरक्षणमा जुटेका छन् । दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, हुम्ला, मुग र सुदुरपश्चिमको देउडा सँस्कृति लोप हुन लागेको भन्दै त्यसलाई जोगाउन लागिपरेका हुन ।

आठबीस नगरपालिका वडा नं.९ मेहल गाउँका पुरानो पुस्ताका देउडा गायक मनबहादुर विक र नयाँ पुस्ताका जनवादी गायक विनोद विश्वकर्मा, सपना शाही, खगेन्द्र विश्वकर्मा, रेशमा विश्वकर्मा, निरु विश्वकर्मा, सन्तोषी शाही, विमल विश्वकर्मा, तिलक विश्वकर्मा र अंजिरसिंह विश्कर्मा कला, गला र संगीतका माध्यमबाटसंस्कृति संरक्षणमा जुटेका छन् ।

पुरानो संस्कारलाई निरन्तरता होइन, अन्धविश्वास र हटाउनै पर्ने कुरालाई त्याग्दै राम्रो सँस्कार र सँस्कृतिको संरक्षण गर्नु भएकाले त्यसलाई बचाइराख्न लागिपरेका छन् । पुरानाबाट नयाँ पुस्ताले राम्रो संस्कार–सस्कृतिको जर्गेना नगर्ने हो भने पहिचान नै लोप भएर जाने बुझाई उनीहरुको छ ।

भिडियो हेरौं/सुनौं (लाइक, शेयर र सब्सक्राइब गर्न नविसाैं)

दशैं–तिहारको समयमा सबै एकै ठाउँमा भेला भएका युवा युवतीहरुले नयाँ र पुरानो पुस्ताको मौलिक कलालाई संयोजन गर्दै देउडा सस्कृति वचाउन गाएररै होमिएका छन् । पुराना पिढिंले नयाँ पुस्तालाई आफ्नो संस्कार रितीरिवाजका वारे जानकारी नदिने हो भने सस्कार जोगाउन नसकिने ७५ वर्षिय मनबहादुर विकले बताए ।

उनले भने, ‘नयाँ पिढिका युवायुवतीहरु भद्दा र घिनलाग्दो पश्चिमा सस्कृतिमा रमाउन थालेका छन्, त्यसैले पुरानो नाचगान रितीतिथी, गीत, ठाडी भाका, देउडा मागल, श्रम, छैटी विर्सिसकेका छन्, कमसेकम राम्रा कुराहरु त नयाँ पुस्ताले सिक्नु पर्‍यो नि ?’ मध्य तथा सुदुरका विभिन्न गाउँ वस्तीमा गाइने गीतहरु पछिल्लो समय हराउँदै गएको छ । त्यसको बचाउ गर्न बार्दली खबर र खगेन्द्र विश्वकर्मा युटुवबाट निरन्तर हरेक हप्ता हेर्न सक्ने उनीहरुको भनाइ छ ।

देउडा गित एक प्रकारको भाषा हो । यसलाई कुनै पनि लयमा ढालेर गाउँन सकिन्छ । प्राय यसका गितहरू खस भाषामा आधारीत हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजा हो । पश्चिम नेपालका बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदी ठाउँमा खस भाषाकोव्यापक प्रयोग भएको पाइन्छ । देउडा गित पनि यिनै ठाँउमा बढी प्रचलित भएको थियो र अहिले पनि लोकप्रिय छ ।

कति पय ठाउँमा पहिले पहिले देउडा गित गाउँन मानिसहरु लाज मान्ने गर्दथे । त्यो अवस्थामा देउडा गितको गितबाट नै छोट्टया र छोट्टी अर्थात केटा केटीबीच सवाल जवाफ चल्ने रोचक र घोचक हुन्छ । यती मात्र होइन देउडा गितबाट नै घरबार बसेका र उठेका कुरा पनि सुन्न सकिन्छ । यो भाका दैलेखको हो र दैलेखीहरूको प्रस्तुती हामीले यहाँ प्रस्तुत गरेका हौं ।

देउडा गीत र भाषिका इतिहास
सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो, देउडा । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदि नामले पनि चिन्ने गरिएको छ । ग्रामीण जिल्लाहरू बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, र जाजरकोट जिल्लामा खासमा गाउने चलन छ ।

पश्चिमेली भाषामा गाइने गीत हो । देउडा गीतको सुरुवात खस भाषिकाको सभ्यतासँगै सुरु भएको हो । कतिपय ठाउँमा पहिलेका दिन र अझै अहिलेका दिनमा देउडा गीत गाउन देउडा भाषिका बोल्न लाज मान्ने चलन थियो । त्यो चलन गाउँमा अझै छ । छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल जवाफ चल्ने गर्छ ।

यति मात्र होइन देउडा गीतबाट सवाल जवाफ गर्ने ठाउँमा केटा र केटीको एक आपसमा माया प्रेम चलेर विवाह भएको पनि छ । भाषिकाको हिसाबले यो धेरै प्रकारको हुन्छ । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गाएको पाइन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ ।

देउडा गीतका ताल र प्रकारहरु
ठाडी भाकाः
ठाडीभाका लामो स्वर गरेर दुई वा एक जनाले गाइन्छ । तर प्रायः जसो एक व्यक्तिले गाउने गरिन्छ । यो ग्रामीण क्षेत्रका भीर, पाखा, गोठालो, घाँस दाउरा काट्न जाँदा सबै भन्दा बढी गाइने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ । यसमा गायकले शान्त र एकान्त ठाउँमा बसेर आफ्ना मनका पिर, व्यथा, हाँसो, खुशीहरू गीतमार्फत् गाउने गर्छन् । ठाडी दैलेख जिल्लाका छेपाडी र दुल्लू क्षेत्रमा बढी ठाडी भाका प्रचलित छ । यस भाकालाई दुलाल भाका पनि भन्ने गरिन्छ । यसमा गायक एकल युगल हुन्छन् कहिले कसो दुई जना मिलेर पनि गाएको भेटिन्छ ।

हुड्के नाचः
हुड्के नाच हुड्काको तालसँग गाउदै नाच्ने गरिन्छ । हुड्क्यौली अथवा हुड्के नाचमा पुराना कथा काहानीहरू समावेश गरिएको हुन्छ । यसमा सामूहिकरूप सबै जना मिलेर गाउने नाच्ने गरिन्छ । गायकहरू दुई समूहमा बाँडिएका हुन्छन् ।

एक समूहमा नाच्ने हुन्छन् नाच्नेहरूलाई हुड्के भन्ने गरिन्छ । अर्को समूहमा सँगसँगै बजाउने र गाउनेहरू हुन्छन् । यो खासगरी दैलेख र पश्चिमक्षेत्र अछाम, बैतडी र दार्चुला तथा कालिकोट जिल्लाका पश्चिम भागमा विवाह गर्दा वा कुनै उत्सव भए बढी गाउने र नाच्ने गरिएको पाइन्छ । यो नाच भारतको उत्तराखण्डमा पनि प्रयोग भएको पाइन्छ ।

धमारीः
देउडा समूह अन्तर्गत पर्ने यो एक प्रकारको भाका हो । यसमा गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन् देउडा खेल खेल्दा जसरी खेलिन्छ र गाइन्छ त्यसरी नै यो खेलिन्छ । धमारी खास गरी न्वारन र पूजा स्थानमा प्रयोग भएको पाइन्छ । यसलाई मुख्य रूपले दैलेख, कालिकोट, डोटी, बैतडी र अछाममा प्रयोग भएको पाइन्छ । मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्ने प्रचलन छ ।

देउडा
देउडाबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा पनि खेल खेल्ने मानिसहरू गोलो घेरा बनाइ पैतलिका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । एक समूह युवा र अर्को समूहमा युवती मिलेर खेलिन्छ ।

युवायुवाबीच र युवतीयुवतीबीच सवाल जवाफकासाथ खेल हुन्छ । गोलाकार शैलीमा समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल हो देउडा । बालकदेखि बृद्धबृद्धासम्म देउडा खेल्न व्यस्त देखिन्छन् ।

केही देउडा गीतहरूः
डोटी राम्रा डडेलधुरा अछाम राम्रा साँफे,
मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफे ।

दुल्लूदेइ दैलेखसम्म जाँथी हान्यो खम्म,
खाँक फाल तिर्सना झाल घाम लागन्तीसम्म ।

म पारी गै’जाने थिएँ नित्र गंगा नित्र,
मै जसो दुखारी कौइ नाइ चौध अञ्चलभित्र ।

भैसाथी जाँदैन भन्दो बामनको बर्म,
दुख्ख पाउनु प्रदेशै धाउनु के बिग्री होइ कम ।

जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो,
हाड मास माटीका भर हँस काँ जाँदो हो ।

यसरी अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्दैछ । पहिले बनपाखाहरूमा गुञ्जने ठाडी न्याउले भाकाहरू आजभोलि हराउँदै गएका छन् ।

आजभोलि पप, हिन्द लगायत अन्य थुप्रै गीत संगीतमा पछिल्लो पुस्ता रमाउँदै गएको छ । रातीको समयमा लाग्ने मेलामा खेलिने न्याउली खेलहरूको संख्या ह्वात्तै घटेको पाइन्छ । देउडा संस्कृतिलाई जगेर्ना गर्ने तथा यसलाई विकास गर्दै सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न तपाईं हामी सबै एक जुट भएर आफ्नो संस्कृतिलाई बचाउन आवश्यक देखिन्छ ।

 

 


Thali Mobile Pvt.Ltd.