काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि लगातार वर्षा भएपछि टससमेत हुन सकेन ।
खेल रद्द भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेपालभन्दा माथि रहेको श्रीलङ्का वरीयताका आधारमा सेमिफाइनलमा पुगेको छ ।अब श्रीलङ्काले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालका लागि श्रीलङ्काविरुद्धको खेल महत्वपूर्ण अवसर थियो । तर वर्षाका कारण नेपाली टोली मैदानमै उत्रिन नपाई प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि सोमबार तय भएका क्वार्टरफाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि उच्च वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । मंगलबार अर्को क्वार्टरफाइनलमा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
