काठमाडौँ, १२ असोज । लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ ।
राति हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने सम्भावना रहे पनि समग्रमा देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ ।
