म्याग्दी, २५ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । एक समय बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोका रूपमा सीमित रहेको दोभान अहिले धौलागिरि चक्रीय पदमार्गको आकर्षक गन्तव्य बनेको हो ।
समुन्द्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको दोभान वरिपरि भिरालो पाखा, घना जङ्गल र अग्ला हिमालले घेरिएको रमणीय क्षेत्र हो । शान्त वातावरण, चराचुरुङ्गीको आवाज र प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।
स्थानीय लक्ष्मण घर्तीका अनुसार करिब २० वर्षअघिसम्म दोभान खर्क र घुम्तीगोठमा सीमित थियो । धौलागिरि हिमाल आरोहण तथा धौलागिरि चक्रीय पदमार्ग हुँदै म्याग्दीबाट मुस्ताङ जाने पर्यटकले यहाँ बास बस्न थालेपछि यसको परिचय विस्तार भएको हो ।
धौलागिरि चौथो हिमालको फेदबाट बग्ने कुनावाङ खोला र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने स्थान भएकाले यस क्षेत्रको नाम दोभान राखिएको स्थानीयवासी बताउँछन् ।
दोभानबाट एक दिनको पैदल यात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र कुनावाङ ताल पुग्न सकिन्छ । गोलो आकारको कुनावाङ ताल प्राकृतिक रूपमा सफा रहने स्थानीयको भनाइ छ । स्थानीय सोम पुनका अनुसार उक्त क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवसम्बन्धी अध्ययनसमेत गरिरहेका छन् ।
दोभान आसपासका पहाडी क्षेत्रमा मृग, झारल र घोरललगायत वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक शान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटकका लागि दोभान उपयुक्त गन्तव्य बन्दै गएको छ । बसन्तयाममा फुल्ने लालीगुराँस र बर्खायाममा फुल्ने बुकीले यहाँको सौन्दर्य थप आकर्षक बनाउने गरेको छ ।
पर्यटकको सुविधाका लागि दोभानमा दुई वटा होटल सञ्चालनमा छन्, जहाँ करिब ५० जनासम्म बास बस्न सक्ने व्यवस्था छ । यहाँ रातो च्याउ र निगालोको टुसाबाट बनेका स्थानीय परिकारको स्वाद लिन सकिन्छ ।
म्याग्दीखोला जलविद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्गका कारण अहिले दोभानसम्म जिप र मोटरसाइकल पुग्न थालेका छन् । बगरदेखि दोभानसम्म नौ किलोमिटर सडक विस्तार भएपछि आवतजावत र ढुवानीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।
यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको कठिन बाटो हिँड्नुपर्ने अवस्था थियो । अहिले भने बेनीबाट करिब पाँच घण्टामै दोभान पुग्न सकिने भएको छ । यातायात सुविधा विस्तार भएसँगै पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।
