धर्म नै मानवता होः आनी छोइङ् डोल्मा

धर्म नै मानवता होः आनी छोइङ् डोल्मा

काठमाडौं । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई मानव धर्म भनिन्छ । धर्म सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानिसको धर्म नै मानवता हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ ।

सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो । धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाबकिताबमा लाग्ने होइन, आफूले जति सकिन्छ, त्यति गर्ने हो ।

बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सत्कर्मको बाटोमा लागेर आफूले पाएको सङ्गीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाइरहेको छु र यसबाट नै जीवनको सार्थकता पुष्टि हुन्छ भन्ने लाग्दछ । जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् गर्न सकिन्छ ।

आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठमन्दिरमै गएर जप गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडि बढाउनु हो । समाजमा एक÷दुईजना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन । नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु ।

भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिकभन्दा पनि दक्षिणा बढी टक्र्याउने गर्छन् । म सकेसम्म यस्तो पैसाहरु आफ्नो हातमै नपारी सेवाका लागि पठाइदिन्छु । केही समयअघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको गीत गाएबापत प्राप्त भएको रु १६ लाख रकम पनि सिक्किममा बन्दै गरेको एक गुम्बालाई चन्दा दिएर फर्किएँ ।

सङ्गीत मेरा लागि साधना हो र आर्थिक उपार्जन गर्ने साधन पनि हो । हामीसँग भएको जति पनि भौतिक सम्पत्ति छ, त्यो अरूलाई नै दिने हो किनकि हिजो त्यो मसँग थिएन र भोलि पनि मसँग रहँदैन । सुखी र खुसी फरक कुरा हो । खुसी क्षणिक चीज हो, सुखी वास्तविकताको बुझाइ हो । शरीरको आयु बढ्दै जाँदा यसको शक्ति पनि कम हुँदै जान्छ ।

सायद यसैले होला आजकल मलाई कसैसँग पनि नराम्रो बोल्न त के सोच्न पनि नपरोस् भन्ने लाग्छ । भौतिक सुख समृद्धिका लागि आफ्नो लागिमात्र केही गरौँ भन्ने भावनाभन्दा माथि उठेर अरूको कल्याणमा समर्पित हुन पक्कै पनि धेरैलाई सजिलो नहुन सक्दछ । जीवनमा मानव भएर जन्मेपछि सार्थकता पाउने एउटै मात्र बाटो सेवा नै हो ।

जीवनमा धेरैभन्दा धेरै पैसा कमाउनुपर्छ, यसले सबै कुरा पुग्छ भन्ने कुरा गलत साबित भएको छ । मानवजस्तो सभ्य जीवको नियन्त्रणमा सारा धर्ती सञ्चालित छ ।

 


Thali Mobile Pvt.Ltd.