डोल्पा, ८ जेठ । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै अधिकांश सामुदायिक विद्यालय बन्द भएका छन् । अभिभावकसँगै विद्यार्थीहरू हिमाली पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो ।
हरेक वर्षझैँ यसपटक पनि जेठ लागेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन् । कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून भएपछि पठनपाठन नै रोक्नुपर्ने अवस्था आएको छ ।स्थानीयका अनुसार डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम मात्र नभई धेरै परिवारको मुख्य आर्थिक आधार हो । वर्षभरको घरखर्च, बालबालिकाको शिक्षा तथा दैनिक जीवन सञ्चालनका लागि यार्सागुम्बाबाट हुने आम्दानीमा धेरै परिवार निर्भर रहने गरेका छन् । यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटन जाने गरेका छन् ।
जेठ १० देखि खुल्दै यार्सापाटन
यस वर्ष जिल्लाका विभिन्न यार्सापाटनहरू जेठ १० गतेदेखि औपचारिक रूपमा खुला हुने तयारी छ । यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा विद्यार्थीहरू विद्यालय छाडेर पाटन जान थालेपछि शैक्षिक गतिविधि प्रभावित बनेको हो । जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीका अनुसार विद्यालयमा विद्यार्थी आउनै छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको हो ।
उनले अधिकांश विद्यार्थी यार्सागुम्बा टिप्न पाटन गएको बताए । “विद्यालयमा विद्यार्थी नै नआएपछि पठनपाठन सञ्चालन गर्न कठिन भयो,” उनले भने ।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङस्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि विद्यार्थी अभावकै कारण विद्यालय बन्द गरिएको जानकारी दिए । उनका अनुसार जेठ सुरु भएसँगै अधिकांश विद्यार्थी पाटनतर्फ लागेका छन् । उनले विद्यालय जेठ २५ गतेसम्म बन्द गरिएको र आफू समेत यार्सागुम्बा संकलनको तयारीमा रहेको बताए ।
जिल्लाभर दोहोरिने समस्या
यी दुई विद्यालय मात्र होइन, जिल्लाका अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामा पुगेका छन् । केही विद्यालयले औपचारिक रूपमा बिदा घोषणा गरेका छन् भने कतिपयमा शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन सकेको छैन ।
त्यस्तै काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले पालिकाले विद्यालय खुला राख्ने प्रयास गरे पनि विद्यार्थी उपस्थिति शून्यजस्तै भएपछि विद्यालय बन्द गर्नुपरेको बताए । यार्सागुम्बा संकलनको समयमा हरेक वर्ष यही समस्या दोहोरिने गरेको उनले बताए । यसकाे दीर्घकालीन समाधानका लागि विशेष शैक्षिक क्यालेन्डर, वैकल्पिक कक्षा सञ्चालन तथा विशेष बिदा व्यवस्थापन आवश्यक रहेको उनकाे तर्क छ ।
“विद्यार्थीको पढाइ निरन्तरता दिन वैकल्पिक शैक्षिक कार्यक्रम आवश्यक छ,” उनले भने ।
शिक्षामा प्रत्यक्ष असर
डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म करिब एक महिना यार्सागुम्बा संकलन हुने गर्दछ । यस अवधिमा हजारौं स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने भएकाले गाउँघर सुनसानजस्तै हुने गरेको स्थानीयहरू बताउँछन् ।
यार्सागुम्बाबाट हुने आम्दानीले धेरै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगे पनि यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको शिक्षकहरूको भनाइ छ । लामो समय विद्यालय बन्द हुँदा पाठ्यक्रम पूरा गर्न कठिन हुने, विद्यार्थीको सिकाइमा निरन्तरता नहुने तथा शैक्षिक उपलब्धि कमजोर हुने समस्या हरेक वर्ष दोहोरिने गरेको उनीहरूले बताएका छन् ।
स्थानीय तह र विद्यालयहरूले यार्सागुम्बा संकलन तथा शिक्षाबीच सन्तुलन कायम गर्ने दीर्घकालीन नीति आवश्यक रहेको बताइरहेका बेला अहिले डोल्पाका अधिकांश विद्यालय सुनसान बनेका छन् भने विद्यार्थीहरू हिमाली पाटनतर्फ लागेका छन् ।
