भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

दूधपोखरीकुण्डमा जल सतह घट्दै गएकामा स्थानीयको चिन्ता

दूधपोखरीकुण्डमा जल सतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी, ८ असार। लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जल सतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जल सतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन् ।

पथप्रदर्शक गङ्गा घलेले जल सतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताए । पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढा टाढाबाट दर्शनार्थी पुग्ने गरेका उनको भनाइ छ । समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ ।

प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जल सतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिए। “जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ”, उनले भने ।

विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरीकुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जल सतह घटेको बताए । “सुरुमा यहाँ पुग्दा देखेको जल सतह अहिले ५० प्रतिशतले घटेको छ”, उनले भने, “कुण्डको उत्तरतर्फबाट हिउँ पहिरोका कारण कुण्ड पुरिने जोखिम छ भने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ ।”

तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनेलगायत कारणले जल सतह घट्दै गएको पथप्रदर्शक घलेले बताए । लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन् ।

कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गरे । यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उनको भनाइ छ ।

मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङग गुरुङले बताए ।

उच्च हिमाली क्षेत्रका साथै मानव बस्तीबाट टाढा रहेको यस तीर्थस्थल पुग्ने प्राचीन भेँडीगोठ, नून बोक्न जाने प्राचीन मार्गलाई सम्पदा पदमार्गका रूपमा अघि बढाउँदै पदयात्रा पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले उल्लेख गरे । सङ्घको आयोजनामा पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङसम्म अन्वेषणात्मक पदयात्रा गरिएको थियो । त्यस्तै दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कफुचे हिमताल, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो ।

तेस्रो चरणअन्तर्गत हालै लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए । उनका अनुसार सन् २०२६ देखि यस गुरुङ सम्पदा पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरीकुण्डको जल सतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताए ।

“दूधपोखरीकुण्डको महत्त्वलाई जीवन्त राख्न, यसको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ”, उनले भने, “यस तीर्थस्थलको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्दै कुण्डको संरक्षणसहित यहाँ पुग्ने पदमार्गको अत्यावश्यकीय पूर्वाधार विकास गर्नु जरुरी छ ।” रासस

 


Thali Mobile Pvt.Ltd.