काठमाडौँ, २६ साउन । अण्डाको माग बढेसँगै व्यवसायीहरूले अण्डाको समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक संघले २६ साउनदेखि लागू हुने गरी विभिन्न प्रकारका अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो ।
संघका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट ५६० रुपैयाँ कायम गरिएको छ । यस्तै ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मिडियम अण्डा प्रतिक्रेट ५०० रुपैयाँ र सानो अण्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण कम हुनुका साथै त्यसका कारण ठूलो संख्यामा कुखुरा मरेपछि अण्डाको उत्पादन घटेको छ । उत्पादन घटे पनि बजारमा अण्डाको माग बढेकाले मूल्य बढेको उनको भनाइ छ ।
उनका अनुसार फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा संघले समर्थन मूल्य निर्धारण गरेको हो । बजारमा अण्डाको मूल्य बढे पनि किसानले भने अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलले बताएका छन् ।
अध्यक्ष पोखरेलका अनुसार एउटा अण्डा उत्पादन गर्न किसानलाई औसत १९ रुपैयाँ १२ पैसा लागत पर्ने गरेको छ । तर किसानले लागत मूल्यअनुसारको आम्दानी गर्न नसकेको उनको भनाइ छ ।
बर्डफ्लुका कारण कुखुरापालक किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको संघले जनाएको छ । ठूलो संख्यामा कुखुरा नष्ट हुँदा अण्डा उत्पादनमा समेत प्रत्यक्ष असर परेको र त्यसको प्रभाव अहिले बजारमा देखिन थालेको बताइएको छ ।
अण्डाको माग बढ्दै जाँदा आगामी दिनमा मूल्यमा थप उतारचढाव आउन सक्ने व्यवसायीहरूको भनाइ छ । संघले फार्मबाट उपलब्ध हुने मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरेको जनाएको छ ।
