भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारको पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन् । पहिरोका कारण आयोजनाको विद्युत् उत्पादनसमेत पूर्ण रूपमा बन्द भएको छ ।

मङ्गलबार राति करिब ३ बजे विद्युत्गृहको पछाडिपट्टि रहेको ल्यासीको भीरबाट पहिरो खसेर विद्युत्गृहमा क्षति पुगेको हो । पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिएका खिमबहादुर बरुवाल सम्पर्कविहीन भएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिएका छन् ।

विद्युत्गृह पहिरोले पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२, भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले पहिरोमा पुरिएका एक जनालाई भने सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार विद्युत्गृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर विद्युत्गृहको केही भाग पुरिएको छ । आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड अझै सम्पर्कविहीन रहेकाले उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण विद्युत्गृहमा ठूलो क्षति पुगेपछि आयोजनाबाट हुँदै आएको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । आयोजनाको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

घारखोला जलविद्युत् आयोजना २०८० साल असारदेखि सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध निर्माण गरी घारखोलाको पानी करिब ३ हजार ५ सय मिटर लामो सुरुङमार्फत अन्नपूर्ण गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा पुर्‍याइएको छ ।

त्यहाँबाट करिब १ हजार २ सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरमा रहेको विद्युत्गृहमा पानी पुर्‍याएर विद्युत् उत्पादन हुँदै आएको थियो ।

अहिले पहिरोले विद्युत्गृहमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन रोकिएको छ भने बेपत्ता सुरक्षा गार्डको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.