भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारको पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन् । पहिरोका कारण आयोजनाको विद्युत् उत्पादनसमेत पूर्ण रूपमा बन्द भएको छ ।

मङ्गलबार राति करिब ३ बजे विद्युत्गृहको पछाडिपट्टि रहेको ल्यासीको भीरबाट पहिरो खसेर विद्युत्गृहमा क्षति पुगेको हो । पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिएका खिमबहादुर बरुवाल सम्पर्कविहीन भएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिएका छन् ।

विद्युत्गृह पहिरोले पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२, भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले पहिरोमा पुरिएका एक जनालाई भने सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार विद्युत्गृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर विद्युत्गृहको केही भाग पुरिएको छ । आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड अझै सम्पर्कविहीन रहेकाले उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण विद्युत्गृहमा ठूलो क्षति पुगेपछि आयोजनाबाट हुँदै आएको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । आयोजनाको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

घारखोला जलविद्युत् आयोजना २०८० साल असारदेखि सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध निर्माण गरी घारखोलाको पानी करिब ३ हजार ५ सय मिटर लामो सुरुङमार्फत अन्नपूर्ण गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा पुर्‍याइएको छ ।

त्यहाँबाट करिब १ हजार २ सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरमा रहेको विद्युत्गृहमा पानी पुर्‍याएर विद्युत् उत्पादन हुँदै आएको थियो ।

अहिले पहिरोले विद्युत्गृहमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन रोकिएको छ भने बेपत्ता सुरक्षा गार्डको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.