एल निनोको प्रभावबीच नेपालमा मनसुन अवधिमा औसतको ९५ प्रतिशत वर्षा

एल निनोको प्रभावबीच नेपालमा मनसुन अवधिमा औसतको ९५ प्रतिशत वर्षा

काठमाडौं, २२ असोज । प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यस वर्ष नेपालमा मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि औसतको झन्डै ९५ प्रतिशत वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु हुनुअघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो । तर, विभागको पछिल्लो विवरणअनुसार जुन १९ तारिखदेखि हालसम्म नेपालमा मनसुन अवधिको औसत वर्षाको झन्डै ९५ प्रतिशत पानी परेको छ ।

नेपालमा सामान्यतया मनसुन अवधिमा १ हजार ५०० मिलिमिटर वर्षा हुने गरेको छ । यस वर्ष भने १ हजार ३२६ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद्हरूका अनुसार मधेश प्रदेशमा औसतभन्दा केही कम वर्षा भएको छ । गण्डकी प्रदेश तथा बागमती प्रदेशका काठमाडौं र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा भने औसतभन्दा बढी वर्षा भएको छ ।

जुम्ला, जोमसोम र काठमाडौं विमानस्थल क्षेत्रमा उल्लेख्य वर्षा मापन भएको छ । त्यसैगरी धनगढी, नेपालगञ्ज, जनकपुर र विराटनगरलगायतका क्षेत्रमा औसतभन्दा कम वर्षा भएको जनाइएको छ । अहिले देशका अधिकांश भूभागबाट मनसुन बाहिरिइसकेको छ । केही स्थानमा पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको सामान्य प्रभाव बाँकी रहेकाले थप वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसुन अवधिमा नेपालमा अपेक्षा गरिएजस्तो असर नदेखिएको हो । यसबाहेक स्थानीय मौसमी प्रणाली र मनसुनको अन्त्यतिर विकसित न्यून चापीय प्रणालीले पनि वर्षा गराउन सहयोग पुर्‍याएको उनले बताएका छन् ।

आगामी नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान गरिएको एल निनो प्रणालीका कारण यस वर्ष नेपालमा हिउँदे वर्षा कम हुन सक्ने जोखिम रहेको छ । लगातार तीन वर्षदेखि घट्दै गएको हिउँदे वर्षाले यस वर्ष कृषि उत्पादन र खाद्य सुरक्षामा थप चुनौती निम्त्याउन सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.