बुढानीलकण्ठमा २१ किलो सुन फेला, ११ किलो तयारी अवस्थामा

बुढानीलकण्ठमा २१ किलो सुन फेला, ११ किलो तयारी अवस्थामा

काठमाडौं, २३ असोज । काठमाडौंको बुढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ठूलो परिमाणमा सुन बरामद गरेको हो ।

प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० किलो प्रशोधन गर्ने तयारीसहित राखिएको अवस्थामा फेला परेको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउसमेत गरेको छ ।

बरामद सुनको स्रोत, त्यसको ओसारपसार तथा घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सुन कहाँबाट ल्याइएको थियो र यसको कारोबारमा अरू कसको संलग्नता छ भन्ने विषय अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ ।

यसअघि २०८० साल साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र लुकाइएको ६० किलो सुन बरामद भएको थियो । उक्त घटनाले नेपालमा सुन तस्करीको सञ्जालबारे व्यापक चर्चा निम्त्याएको थियो ।

नेपालमा बरामद हुने सुन भारततर्फ तस्करी हुने गरेको र यस्ता गतिविधिमा नेपाली नागरिकलाई भरिया तथा व्यवस्थापकका रूपमा प्रयोग गरिने गरेको अनुसन्धानबाट खुलेका विवरण सार्वजनिक हुँदै आएका छन् । बुढानीलकण्ठबाट बरामद भएको २१ किलो सुनको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.