काठमाडौं, ३० बैशाख । यस वर्षको वसन्तकालीन आरोहणका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा सम्म पुग्ने बाटो खुलाइएको छ।दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै शिखरसम्म मार्ग निर्माण गर्न खटिएको अनुभवी शेर्पा टोली सफलतापूर्वक शिखरमा पुगेपछि आरोहणको बाटो खुला भएको हो।
डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको Expedition Operators Association of Nepal ले उक्त जानकारी दिएको छ। संस्थाका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पासहितको टोली आज बिहान १० बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो। उनीहरूले शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरेका छन्।
सगरमाथा आरोहणका लागि हरेक सिजनमा डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ। अब आरोहीहरूले सोही डोरीको सहायताले शिखरतर्फ यात्रा गर्नेछन्। यस वर्ष खुम्बु आइसफल क्षेत्रमा पुरानो मार्ग अवरुद्ध भएपछि केही चुनौती देखिएको थियो। पछि आइसफल डाक्टरहरूले नयाँ मार्ग खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोही टोली खटाइएको थियो।
शिखरसम्म मार्ग खुलिसकेकोले अब मौसम अनुकूल भएपछि आरोहण अभियान तीव्र हुने अपेक्षा गरिएको छ। यस सिजनमा सगरमाथा आरोहणका लागि हालसम्म ४९२ जनाले अनुमति लिइसकेका छन्। सरकारले सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको जनाएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण हरेक वर्ष अन्तर्राष्ट्रिय चासोको विषय बन्ने गरेको छ।
