भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।

केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताए। उनका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।

केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताइन्। “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ”, उनले भनिन् ।

तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गरे । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिए ।

केराको थामबाट बनेका सामग्री प्राकृतिकरुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उनले बताए । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.