जुगल २ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

जुगल २ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोक, १५ कार्तिक ।सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोहीले यस हिमालको शिखरमा पुगेर नयाँ आरोहण इतिहास बनाएका हुन् । स्पेनका पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ हिमालको सफल आरोहण गर्नुभएको हो ।

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर सुरक्षित रूपमा आधारशिविर फर्किएको छ । यस सफल आरोहणले जुगल हिमशृङ्खलाका अन्य हिमालमा समेत आरोहणको सम्भावना बढाएको उहाँले बताउनुभयो ।तामाङले यस उपलब्धिले नेपालको पर्वतीय  पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ हिमालको पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिनुभएको छ । उहाँले यस सफलताले नेपालको हिमाली पर्यटन र विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ ।

‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ । यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिकको आरोहण भएको थियो ।

त्यस्तै, २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले ६ हजार १८४ मिटर अग्लो जुगल–३ हिमाल आरोहण गरेको थियो । विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.