काठमाडौँ, २६ साउन । पछिल्ला केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा वीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस्तो व्यवस्था गरेको हो ।
वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलो क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ ।
कोशी प्रदेश
कोशी प्रदेशको इलाममा पर्ने मेची राजमार्गअन्तर्गत झापा–ताप्लेजुङ सडकखण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भोजपुरतर्फको मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको लमजुङमा रहेको मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको बाजुरामा कर्णाली करिडोरअन्तर्गत कालीकोट–हुम्ला सडकखण्ड बाढी तथा पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित राजमार्ग तथा सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी, पहिरो तथा सडक भासिने जोखिम रहेका स्थानमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
