भर्खरै : Sorry, your browser does not support inline SVG.

महासंघको स्थापना दिवसः पत्रकारको भवन बनाउन ५० हजार दिने साँसद थापाको उद्घोष (भिडियो सहित)

महासंघको स्थापना दिवसः पत्रकारको भवन बनाउन ५० हजार दिने साँसद थापाको उद्घोष (भिडियो सहित)

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रतिवद्धता व्यक्त गरेका छन् । व्यक्तिगत रुपमै ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् । स्थापना दिवसको अवसरमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले वर्षौदेखि पत्रकार महासंघको भवन बन्न नसक्दा आफूलाई दुख लागेको जिकिर गरे ।

महासंघ पत्रकारको साझा केन्द्र हुनुपर्ने भन्दै उनले नेतृत्व चयनसंगै प्रतिस्पर्धा बिर्सिएर एकतावद्ध भै अघि बढ्न सुझाव दिए । सांसद थापाले नकारात्मक कोणबाट मात्र कन्टेन्ट नदिन आग्रह गर्दै सकारात्मक समाचार बनाउन पत्रकारले कन्जुस्याई गर्दा देशमा असन्तुष्टि बढेको गुनासो गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका, देशान्तर साप्ताहिकका सम्पादक कविर राणा, काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की र जिल्लाका पेशागत संघसंगठनका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।

प्रेस युनियनका अध्यक्ष रोशन सिल्पकार, प्रेस सेन्टर अध्यक्ष मदन ढुंगाना, प्रेस चौतारी उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस संगठन अध्यक्ष दिनेश कार्की, जनपत्रकार संगठन पुष्पाकुमारी साउदले शुभकामना मन्तव्य राखेका थिए । श्रमजीवी पत्रकारको हित, प्रेस स्वतन्त्रता र शाखाको भवन निर्माणबारे चासो व्यक्त गर्दै सबैलाई जुट्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकार जगतकृष्ण प्रजापति र पुस्करराज बुढाथोकी त्यसैगरी पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको आतिथ्यता रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


शाखाका अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक ढुंगानाले गरेका थिए भने उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तब्य राखेका थिए । पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर २८ वर्ष अघि महासंघ भक्तपुर जिल्ला शाखा स्थापना भएको थियो । त्यसयता बिकल श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर सिल्पकारको नेतृत्वमा शाखा अघि बढिरहेको छ ।

स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएका कारण सो कार्य गर्न नसकिएको महासंघले जनाएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा अतिथिका रुपमा समय दिएपनि अनुपस्थित रहेको सचिव दिपक ढुंगानाले बताए ।

 


Thali Mobile Pvt.Ltd.