काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको लोकगीत सार्वजनिक गरिएको हो । गीतको शब्द, स्वर, संगीत र दृश्यात्मक प्रस्तुतीले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतमा लोकप्रिय तथा चर्चित गायिका देवी घर्ति र गायक हेमन्त कान्छा रसाइलीको युगल स्वर रहेको छ। दुबैको आवाजमा रहेको मिठास, भावनात्मकता र लोकशैलीको समिश्रणले गीतलाई विशेष बनाएको छ। गीतको शब्द नेपाली लोकसाहित्यका अनुभवी सर्जक राज कुमार बगरले लेखेका हुन् भने संगीत स्वयं गायक रसाइलीले भरेका छन्।
भिडियो निर्देशनको निर्देशक एकिन्द्र साराशङ्करले गरेका छन् । भिडियोको छायांकन, सम्पादन तथा कलात्मकता पक्ष बलियो देखिन्छ। गीतको कथावस्तु ग्रामीण जीवन, यौवनको उत्कट भावनात्मकता र समाजिक परिवेशसँग जोडिएको छ। गीतको अन्त्यमा देखाइएको कारुणिक बिदाइको दृश्य निकै मार्मिक बनेको छ, जसले दर्शकलाई भावुक बनाउनेछ।
भिडियोमा गायक हेमन्त कान्छा रसाइली र नायिका लक्ष्मी थापा मगरको अभिनय रहेको छ। उनीहरूको भावप्रवण अभिनयले गीतको भावनालाई जीवन्त बनाएको छ। विशेषगरी प्रेम, बिछोड र सांस्कृतिक भावलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
युट्युब च्यानलबाट प्रचारप्रसार
गीत “हेमन्त कान्छा रसाइली” नामक युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक गरिएको हो। गायक रसाइलीले आफ्ना दर्शक, श्रोता तथा संगीतप्रेमीहरूलाई भिडियो हेरेर लाइक, कमेन्ट, सेयर र च्यानल सब्स्क्राइब गर्न अनुरोध गरेका छन्। साथै, गीत निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण टोलीप्रति उनले हार्दिक आभार प्रकट गरेका छन्।
लोकसंगीतमा निरन्तर योगदान
हेमन्त कान्छा रसाइली नेपाली लोकसंगीतको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको नाम हो । उनले आफ्नो कला र सिर्जनाको माध्यमबाट नेपाली समाजका विविध भाव, घटना र अनुभवलाई संगीतमा उतार्दै आइरहेका छन्। यसअघि पनि उनले थुप्रै लोकगीतहरूमा स्वर र संगीत दिएर श्रोतामाझ गहिरो छाप छोडिसकेका छन्।
“जानै लाग्यो बैश रिमै” केवल एउटा गीत मात्र होइन, यो एउटा भावनात्मक यात्रा हो । जहाँ प्रेम, विछोड, पीडा र स्मृतिहरू संगीत र दृश्यको माध्यमबाट जीवन्त पारिएका छन्।
गीतले दर्शकलाई आत्मीयता दिलाउने मात्र होइन, लोकसंगीतप्रतिको प्रेम र अपनत्व झनै बलियो बनाउनेछ।“जय गीत, जय संगीत भन्ने नारासहित सार्वजनिक गरिएको यो लोकगीतले नेपाली संगीतमा अर्को प्रेरणादायी अध्याय थप्ने विश्वास लिइएको छ।