भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने

मुग्लिन । नेपालका पाँचवटा नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सातवटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाउने भएको हो ।

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ ।

परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको उनले बताए ।

उनले भने, “क्याप परियोजना विश्वबैंकको आर्थिक सहयोगमा क्रिएशन नेपालद्वारा सञ्चालित परियोजना हो, जसले प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।”

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्लास्टिकजन्य फोहरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले अध्यक्ष गुरुङले गाउँपालिकाले यस अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा जलयात्रा पर्यटन वृद्धि हुने उनको आशा छ ।

परियोजना प्रमुख उपाध्यायका अनुसार त्रिशूली नदी सरसफाइ अभियानका लागि गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिने छ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहर सङ्कलन गरी त्यसलाई रिसाइकल गरि मूल्य श्रृङ्खलामा परिणत गरिनेछ । रिसाइकल गरी आम्दानीको स्रोत बनाएपछि प्लास्टिकजन्य फोहर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।

स्थानीय तहहरुका लागि प्लास्टिकजन्य फोहर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायतका काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.