भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

मुख्य बुँदा 

चैत महिनामा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

स्थानीय काउलीको मूल्य ३०४ प्रतिशतभन्दा बढी बढ्यो

पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन

पेट्रोल २१९ रुपैयाँ र एलपी ग्यास १९१० रुपैयाँ पुग्यो

अमेरिकी डलरको मूल्य बढ्दा आयात महँगो

खाद्यान्नको मूल्य काठमाडौँमा तुलनात्मक रूपमा बढी

बिचौलिया र ढुवानी खर्च मूल्यवृद्धिका प्रमुख कारण

काठमाडौँ, १३ बैशाख । नेपाली उपभोक्ताका लागि गएको चैत महिना महँगीका कारण निकै कष्टकर बनेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ।

प्रतिवेदनअनुसार पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र अमेरिकी डलरको विनिमय दर मजबुत हुँदा ढुवानी तथा आयात खर्च बढेको छ, जसको प्रत्यक्ष असर उपभोक्ताको भान्छामा परेको विभागले जनाएको छ।

चैत महिनामा सबैभन्दा धेरै मूल्यवृद्धि तरकारीमा देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारको विवरणअनुसार स्थानीय काउलीको मूल्य ३०४.७६ प्रतिशतले बढेको छ। त्यस्तै हाइब्रिड घिउ सिमीको मूल्य ३०० प्रतिशत र स्थानीय घिउ सिमीको मूल्य २६६.६७ प्रतिशतले वृद्धि भएको छ।

फर्सी र ब्रोकाउलीको मूल्यमा क्रमशः २०० प्रतिशत र १८७ प्रतिशत वृद्धि भएको छ। मौसमी प्रभाव र ढुवानी खर्च बढेकाले तरकारीको मूल्य नियन्त्रणबाहिर गएको प्रतिवेदनमा उल्लेख छ। चैत महिनामा इन्धनको मूल्यवृद्धि महँगीको मुख्य कारण बनेको छ। फागुनदेखि चैतसम्म मात्रै पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन गरिएको थियो।

चैत २६ गतेसम्म पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १९१० रुपैयाँ पुगेको थियो। हवाई इन्धनको मूल्य पनि बढेर १७८५ रुपैयाँ पुगेको छ।

अमेरिकी डलरको विनिमय दरमा भएको उतारचढावले पनि महँगी बढाउन योगदान दिएको छ। चैत १६ गते अमेरिकी डलरको खरिद दर १५१.४१ रुपैयाँ र बिक्री दर १५२.०१ रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो। आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर महँगिँदा आयातित वस्तुको मूल्य पनि बढेको प्रतिवेदनमा उल्लेख छ।

खाद्यान्नतर्फ पनि मूल्य वृद्धि देखिएको छ। काठमाडौँ उपत्यकामा सोना मन्सुली चामल प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँ पुगेको छ। मासको दाल प्रतिकिलो १९० रुपैयाँ र मुसुरो दाल १८५ रुपैयाँ पुगेको छ। चिनी प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।

विभागले मूल्यवृद्धिको मुख्य कारण माग र आपूर्तिबिच असन्तुलन, इन्धनको मूल्यवृद्धि र बिचौलियाको प्रभावलाई मानेको छ। बजार नियन्त्रणका लागि अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य कार्यान्वयन, सघन बजार अनुगमन तथा स्थानीय उत्पादनमा जोड दिने योजना विभागले सार्वजनिक गरेको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.