गाजाको कठिन जीवन: आक्रमण र खाद्यान्न अभावले उत्तरी गाजा रित्तिँदै

गाजाको कठिन जीवन: आक्रमण र खाद्यान्न अभावले उत्तरी गाजा रित्तिँदै

इजरायल, १०  जेठ । शुक्रबार बिहान इजरायली आक्रमणमा गाजामा कम्तीमा ७६ जनाको ज्यान गएको छ। जबालिया शरणार्थी शिविरमा भएको आक्रमणमा ५० जना मारिएका वा हराइरहेको बताइएको छ। स्थानीयवासीले इजरायली सेनाले रमाइलोका रूपमा आक्रमण गर्ने गरेको आरोप लगाएका छन्। युद्ध र राहत अभावले उत्तरी गाजा रित्तिन थालेको छ, जहाँ गाउँहरू खाली हुँदै गएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटिरेसले यो युद्ध क्रुरताको चरम सीमामा पुगेको बताएका छन् । खाद्यान्न र औषधिको अभावले सर्वसाधारण, विशेष गरी बालबालिका, भोकमरीको सिकार बन्दै छन् । थोरै राहत सामग्रीका लागि मानिसहरू लाइनमा बसेका छन्, भने केही थप सहायता आउने आसमा छन् । यमनको हुथी समूहको धम्कीका कारण ब्रिटिस एयरवेजले जुलाईसम्म इजरायल उडान बन्द गरेको छ ।

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

इजरायलले केही समयअगाडि लगाएको घेराबन्दी सहज भएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो । तर, १५ भन्दा बढी राहत ट्रक बाटोमै लुटिँदा अवस्था भयावह बनेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण गाजामा खाद्यान्न बोकेका १५ ट्रक लुटिएको जनाएको छ, जुन स्थानीय बेकरीका लागि रोटी पकाउन प्रयोग हुने थियो । गुटिरेसले यो राहतलाई ‘जताततै आगो लागिरहेको बेला एक थोपा पानी’को संज्ञा दिए, जुन गाजाको ठूलो आवश्यकतासँग तुलना नहुने बताए ।

शुक्रबारको इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु र धेरै घाइते भएको गाजा नागरिक सुरक्षा विभागले जनाएको छ । गुटिरेसले इजरायललाई राहत ढुवानी सहज बनाउन आग्रह गरेका छन्, तर हालसम्म ४ सय ट्रकमध्ये केवल ११५ मात्र पुगेका छन् । भोक, निराशा र असुरक्षाले सामाजिक अशान्ति बढेको डब्लुएफपीले उल्लेख गरेको छ। इजरायली सेनाले हातहतियार गोदाम र लडाकु लुक्ने स्थानमा ७५ भन्दा बढी बम प्रहार गरेको दाबी गरेको छ ।

अल-आव्दा अस्पतालमा ड्रोन आक्रमणमा तीन स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा घरहरू भत्किएर कालो धुवाँ उठेको दृश्य देखिएको छ । मार्च ५ देखि पुनः सुरु भएको यो युद्धमा ३,६७३ जनाको मृत्यु भएको छ र कात्तिक २०८० यता कुल ५३,८२२ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश सर्वसाधारण छन् ।

 


Thali Mobile Pvt.Ltd.