भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

जेनजी आन्दोलन र बाढीपहिरोको असर: निर्जीवन बीमा कम्पनीहरूको नाफा खुम्चियो, ठूला कम्पनी नै नोक्सानीमा

जेनजी आन्दोलन र बाढीपहिरोको असर: निर्जीवन बीमा कम्पनीहरूको नाफा खुम्चियो, ठूला कम्पनी नै नोक्सानीमा

मुख्य बुँदा

दोस्रो त्रैमाससम्म अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घट्यो

१४ मध्ये ५ कम्पनी नोक्सानीमा, ठूला कम्पनीमा समेत झड्का

बाढीपहिरो र जेनजी आन्दोलनपछि दाबी रकम ह्वात्तै वृद्धि

पुनर्बीमा रणनीति अपनाएका कम्पनी तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं, २ फागुन। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार धेरैजसो कम्पनीको नाफा खुम्चिएको छ भने केही ठूला कम्पनीसमेत नोक्सानीमा गएका छन्।

केही समयअघि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा जेनजी आन्दोलनका कारण सिर्जित परिस्थितिले बीमा दाबी उल्लेख्य रूपमा बढाएको थियो। सोही कारण कम्पनीहरूको ब्यालेन्स सिटमा प्रत्यक्ष असर परेको देखिएको छ।

समीक्षा अवधिमा १४ निर्जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनी नोक्सानीमा गएका छन्। छ वटा कम्पनी नाफामा रहे पनि गत वर्षको तुलनामा नाफा घटेको छ। दुई कम्पनी गत वर्ष नोक्सानीमा रहेकोमा यस वर्ष नाफामा फर्किएका छन् भने एउटा कम्पनीले मात्रै गत वर्षको तुलनामा नाफा सामान्य वृद्धि गरेको छ।

नोक्सानीमा गएका कम्पनीहरूमा आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, युनाइटेड अजोड र सिद्धार्थ प्रिमियर रहेका छन्। त्यस्तै हिमालयन एभरेस्ट, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, एनएलजी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी नाफामा रहे पनि अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ।

ओरेन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स गत वर्ष नोक्सानीमा रहेका भए पनि यस वर्ष नाफामा देखिएका छन्। माइक्रो इन्स्योरेन्सतर्फ तीनवटै कम्पनी नाफामा रहेका छन्। तीमध्ये दुई कम्पनीको नाफा बढेको छ भने एउटा कम्पनीको नाफा घटेको छ।

बीमा कम्पनीहरूको आम्दानी घट्नु र नोक्सानी बढ्नुको प्रमुख कारण अत्यधिक दाबी भुक्तानी नै हो। बाढीपहिरो तथा आन्दोलनका कारण सम्पत्तिमा पुगेको क्षतिले कम्पनीहरूमा दाबीको चाङ लागेको थियो। दाबी रकम बढ्दा अन्डरराइटिङ नाफा प्रभावित भएको बीमा क्षेत्रका जानकारहरू बताउँछन्।

यद्यपि सबै कम्पनीको अवस्था समान छैन। यसमा कम्पनीहरूले अपनाएको पुनर्बीमा (Reinsurance) रणनीतिले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। जसले आफ्नो जोखिमको ठूलो हिस्सा पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका थिए, ती कम्पनीहरू तुलनात्मक रूपमा  सुरक्षित देखिएका छन्। दाबी धेरै आए पनि दायित्व पुनर्बीमा कम्पनीमा सर्ने हुँदा खुद नोक्सानी कम भएको छ।

तर पुनर्बीमा कम गरेर बढी जोखिम आफैंमा राख्ने कम्पनीहरू भने बाढी र आन्दोलनको प्रभावबाट नराम्ररी प्रभावित भएका छन्। धेरै दाबी र उच्च जोखिमका कारण बलिया मानिने कम्पनीहरू समेत नोक्सानीमा जानु परेको छ। बीमा क्षेत्रमा बढ्दो जोखिम व्यवस्थापन र पुनर्बीमा रणनीतिको महत्व यस घटनाले पुनः स्पष्ट पारेको विश्लेषकहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.