जेनजी अभियानले मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह
लिली थापाको नेतृत्वमा बनेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
आयोग सरकारको दबाबमा परेको आशंका व्यक्त
आयोग अगाडिबाट पक्राउ परेकाबारे अभियानको प्रश्न
पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने आयोगको प्रतिबद्धता
प्रतिवेदन नआए आन्दोलन गर्ने जेनजी अभियानको चेतावनी
काठमाडौं, ३० बैशाख । राष्ट्रिय जेनजी नागरिक अभियान ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोग लाई आग्रह गरेको छ।
अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष तथा पदाधिकारीहरूसँग भेट गर्दै आयुक्त लिली थापा को नेतृत्वमा तयार गरिएको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका हुन्। आयोग पुगेका अभियानका प्रतिनिधिहरूले नागरिकको मानव अधिकार हनन हुँदा पनि आयोग मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
उनीहरूले आयोग सरकारको दबाबमा परेको वा कसैलाई जोगाउन प्रतिवेदन पुनर्लेखन भइरहेको हुनसक्ने आशंका समेत व्यक्त गरेका छन्। छलफलका क्रममा जेनजी अभियानका प्रतिनिधिहरूले आयोगकै कार्यालय अगाडिबाट आफ्ना साथीहरू पक्राउ परेर आठ घण्टा हिरासतमा रहँदा समेत आयोग मुकदर्शक बनेको भन्दै प्रश्न उठाएका थिए।
जवाफमा आयोगका अध्यक्षले आफ्नो स्वास्थ्य अवस्थाका कारण प्रतिवेदन सार्वजनिक गर्न केही ढिलाइ भएको बताएका थिए। यद्यपि आयोगले प्रतिवेदनको अध्ययन सकिएको र आगामी पाँच दिनभित्र आयोगको धारणा तथा सिफारिस सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको अभियानले जनाएको छ।
छलफलका क्रममा आयोगका अर्का आयुक्तले राजनीतिक दलहरू सत्तामा हुँदा मानव अधिकारप्रति उदासीन हुने र प्रतिपक्षमा पुगेपछि मात्र मानव अधिकारको कुरा उठाउने प्रवृत्ति रहेको टिप्पणी गरेका थिए।
मानव अधिकार आयोगसँगको भेटमा जेनजी अभियानका तर्फबाट सुनिल सिंह, अजय सोडारी, प्रकाश बम, वीरजंग विक, सुशील बुढाथोकी र जनम सिंह सहभागी थिए। अभियानले पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक नभए सशक्त प्रतिवाद तथा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
