भर्खरै : Sorry, your browser does not support inline SVG.

गोरुमाथि अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ, पशु क्रूरतासम्बन्धी मुद्दा दर्ता

गोरुमाथि अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ, पशु क्रूरतासम्बन्धी मुद्दा दर्ता

प्युठान, २२ जेठ । प्युठानमा गोरुमाथि अमानवीय तथा निर्दयी व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको हो।

पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका–१ निवासी अन्दाजी ३६ वर्षीय जालिराम थापा मगर रहेका छन्। प्रहरीका अनुसार उनले आफ्नै खेतबारीमा गोरु जोतिरहेका बेला गोरु हिँड्न नसकी खेतमै बसेपछि गोरुको नाक र मुख माटोमा गाडेर निर्दयी व्यवहार गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई व्यापक आलोचना भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि थापा मगरलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। पशु अधिकार र कल्याणसम्बन्धी सरोकारवालाले यस्ता घटनामा कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.