काठमाडौं, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन् ।
दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमन गर्दै मन्त्री अर्यालले विगतमा देखिएका कमीकमजोरी सच्याउँदै यसपटक धाँधलिरहित र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने गलत, मिथ्या तथा दुष्प्रचारयुक्त सूचनाबाट सचेत रहन सबै सरोकारवालालाई आग्रह गरे । उनले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रभावकारी तयारी गर्न पनि निर्देशन दिएका छन् ।
शुक्रबार बिहान गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले बैतेश्वर गाउँपालिकाका विभिन्न मतदान केन्द्रको अनुगमन गर्नुका साथै स्थानीय सरोकारवालासँग निर्वाचन सुरक्षा र व्यवस्थापनबारे अन्तरक्रिया गरेको थियो । अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा तथा वडा सदस्य सोम्बरबहादुर तामाङ सहभागी थिए ।
सह–प्रवक्ता आचार्यका अनुसार छलफलका क्रममा २०७९ सालको स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनको अनुभव समीक्षा गर्दै आगामी निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजनाबारे जानकारी दिइएको थियो । विगतमा केही मतदान केन्द्रमा देखिएको संवेदनशीलता र समस्यालाई मध्यनजर गर्दै विभिन्न नाकामा चेकजाँच कडाइ गरिएको जनाइएको छ । बैतेश्वर गाउँपालिकामा ८ मतदान स्थल, २१ मतदान केन्द्र र कुल १८ हजार ४ सय २२ मतदाता रहेका छन् ।
