स्वास्थ्य बीमा बोर्डलाई बचाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर
मन्त्रालयले चालु कार्यक्रम कटौती गरी बीमा बोर्डको आर्थिक संकट कम गर्ने प्रयास
बोर्डको ११ अर्ब रुपैयाँ भुक्तानी दायित्व छ, मासिक २ अर्बको दरले बढ्दै जाने अवस्था
ठुला सरकारी अस्पतालहरूले बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि तत्काल राहत रकम पठाइयो
काठमाडौँ, ८ फागुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको भन्दै २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिनुभयो।
डा. बुढाथोकीका अनुसार, “स्वास्थ्य बीमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकताका कारण चालु बजेटका कम महत्त्वपूर्ण शीर्षकबाट रकम रकमान्तर गरिएको हो। अन्य मन्त्रालयबाट पनि रकमान्तर गर्न सकिने बजेट खोजी भइरहेको छ।”
बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो। यस कारण धेरै सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम रोक्न थालेका थिए। बोर्डको हालसम्म ११ अर्ब रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको छ, जुन प्रत्येक महिना २ अर्ब रुपैयाँको दरले बढ्दै जाने अवस्था छ।
मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गरी स्वास्थ्य बीमा बोर्डमा रकम पठाएको छ। केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि बैठक बोलाएर बीमा बोर्डका लागि आवश्यक रकम ऋण गरेर व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।
रकमान्तर गरिएको रकम ५ लाखदेखि ५० करोडसम्मका शीर्षकमा समेटिएको छ, जसले मन्त्रालयका अन्य कार्यक्रममा ठूलो असर नपर्ने अनुमान गरिएको छ।
