भर्खरै : Sorry, your browser does not support inline SVG.

व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध

व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध

मुख्य बुँदा

नेपाल आयल निगमले व्यावसायिक प्रयोजनको ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गर्नुपर्ने व्यवस्था अघि सारेको छ ।

निगमले घरायसी प्रयोजनका लागि ग्यास वितरणलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

होटल व्यवसायी महासंघले निर्णयले पर्यटन तथा होटल क्षेत्रमा गम्भीर असर पार्ने भन्दै आपत्ति जनाएको छ ।

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् ।

हानका अध्यक्ष विनायक शाहले भने निर्णयबारे आफूहरूले आधिकारिक जानकारी नपाएको बताएका छन् ।

उद्योगमन्त्री गौरिकुमारी यादवले होटल व्यवसायीसँग छलफल गर्न मन्त्रालयमा बैठक बोलाएकी छन् ।

काठमाडौँ, १८ भदाै । नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने खाना पकाउने ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गरेर ल्याउनुपर्ने व्यवस्था अघि सारेपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीले आपत्ति जनाएका छन् ।

निगमले घरायसी प्रयोजनका लागि ग्यास वितरणलाई प्राथमिकता दिँदै व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासका लागि व्यवसायीले तराईमा रहेका बोटलिङ उद्योगबाट आफैँ ग्यास ल्याउनुपर्ने व्यवस्था गरेको हो ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले निगमको यस्तो निर्णयले पर्यटन तथा होटल क्षेत्रमा गम्भीर असर पार्ने बताएका छन् । एकातिर सरकारले पर्यटनलाई आम्दानीको प्रमुख स्रोतका रूपमा प्रवद्र्धन गर्ने र अर्कोतिर होटल तथा रेस्टुरेन्ट सञ्चालनमै समस्या हुने खालका निर्णय गर्नु अव्यावहारिक भएको उनको भनाइ छ ।

चुकेले सर्वसाधारणका घरमा ग्यास अभाव हुँदा होटल तथा रेस्टुरेन्टले खाना र खाजाको आवश्यकता पूरा गर्दै आएको उल्लेख गरे । संकटका समयमा समेत व्यवसायीले लागत मूल्यमा खाना खुवाउँदै आएको भन्दै उनले अहिलेको निर्णयले होटल क्षेत्र थप समस्यामा पर्ने बताए ।

उनका अनुसार होटल तथा रेस्टुरेन्ट क्षेत्रमा वर्षभरि ठूलो परिमाणमा ग्यास खपत हुन्छ । त्यसैले उद्योगबाट व्यवसायी आफैँले ग्यास ढुवानी गर्नुपर्ने निर्णयले व्यवसायी मात्र नभई ग्यास उद्योगीलाई समेत समस्या पार्ने उनको भनाइ छ । यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुने छलफलमा व्यवसायी र उपभोक्ताको हितलाई ध्यानमा राखेर आफ्ना प्रस्ताव राख्ने चुकेले बताएका छन् ।

यता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष विनायक शाहले भने निगमको निर्णयबारे आफूहरूले हालसम्म आधिकारिक जानकारी नपाएको बताएका छन् । सञ्चारमाध्यममा आएका समाचारबाट मात्रै आफूहरूले यसबारे जानकारी पाएको उनको भनाइ छ ।

यद्यपि निगमले वास्तवमै यस्तो निर्णय गरेको हो भने त्यो गलत हुने शाहले बताएका छन् । राज्यमा विधिवत् दर्ता भएर नियमित रूपमा कर तिर्दै व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमाथि एकपक्षीय रूपमा निर्णय लाद्न नहुने उनको तर्क छ ।

हानले मन्त्रालयमा हुने छलफलपछि यस विषयमा संस्थागत धारणा तय गर्ने जनाएको छ । निगमले बुधबार व्यावसायिक प्रयोजनका लागि ग्यास प्रयोग गर्ने होटल, रेस्टुरेन्टलगायतका व्यवसायीले बोटलिङ भइरहेको उद्योगबाट आफैँ ग्यास भरेर ल्याउनुपर्ने निर्णय गरेको थियो ।

निर्णयको चौतर्फी आलोचना भएपछि उद्योगमन्त्री गौरिकुमारी यादवले बिहीबार दिउँसो होटल व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएकी छन् । छलफलबाट व्यावसायिक ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नेबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.