भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै

जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै

काठमाडौँ, १८ भदाै । विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास कमजोर हुँदै गए प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

विश्वको तापक्रम औद्योगिक युगअघिको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने जोखिम बढ्दै गएको अवस्थामा प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरू थप जोखिममा पर्ने वैज्ञानिकहरूको भनाइ छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनअनुसार विश्वको तापक्रम औद्योगिक युगअघिको तुलनामा १.८ डिग्री सेल्सियससम्म बढ्न सक्ने देखिएको छ । यो पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको लक्ष्यभन्दा बढी हो ।

पालाउमा भइरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनका क्रममा वैज्ञानिकहरूले तापक्रम वृद्धिले समुद्री तापक्रममा समेत वृद्धि हुने बताएका छन् । समुद्रको तापक्रम बढ्दा टुना माछाको बासस्थान पूर्वतर्फ सर्ने उनीहरूको अनुमान छ ।प्रशान्त क्षेत्रमा विश्वको झण्डै एकतिहाइ टुना उत्पादन हुने भएकाले माछाको बासस्थान परिवर्तन हुँदा टापु राष्ट्रहरूको आम्दानीमा ठूलो असर पर्न सक्नेछ । समुद्री स्रोतमा निर्भर तटीय समुदायको माछा उत्पादनसमेत झण्डै ६५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनका कारण समुद्री सतह र चरम मौसमजन्य घटनाको जोखिम बढ्दा प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा बाढीको खतरा पनि बढिरहेको छ । त्यसैगरी समुद्री नुनिलो पानी जमिनभित्र प्रवेश गर्दा भूमिगत पानी तथा अन्य खानेपानीका स्रोत दूषित हुने जोखिम बढेको वैज्ञानिकहरूले बताएका छन् । खानेपानीको स्रोतमा क्षति पुग्दा केही टापुहरूमा मानिसको बसोबाससमेत कठिन बन्न सक्ने चेतावनी दिइएको छ ।

प्रशान्त क्षेत्रका नेताहरूले जलवायु सङ्कटको प्रभाव कम गर्न विश्वव्यापी प्रयास तत्काल तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धि नियन्त्रण गर्न नसके प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले खाद्य सुरक्षा, खानेपानी, जीविकोपार्जन र अर्थतन्त्रमा दीर्घकालीन तथा गम्भीर चुनौती सामना गर्नुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.