भर्खरै : Sorry, your browser does not support inline SVG.

ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति भक्तपुर नगरलाई धन्यवाद दिए

ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति भक्तपुर नगरलाई धन्यवाद दिए

भक्तपुर । जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरेका छन् । आइतबार भएको भेटमा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ट हुँदै गएको बताए ।

उनले उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको जानकारी दिए । नेमकिपा वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी भएको बताउँदै उनले नेमकिपाका जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको बताए । भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयलाई प्राथमिकता राख्दै काम गरिरहेको बताउँदै उनले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यअनुरुप काम गरिरहेको बताए ।

चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति धन्यवादज्ञापन गर्दै दुई नगरबीच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरी विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न सकिने बताए । चिङ्काङ्शान चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण नगर भएको बताउँदै उनले पर्यटन र संस्कृतिमा भक्तपुर र चिङ्काङ्शानबीच धेरै विषयमा समानता रहेको जानकारी दिए । चिङ्काङ्शान चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनगणतन्त्र सुरु गरेको ठाउँ भएको उनले जानकारी समेत दिए ।

टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको दरबार क्षेत्र प्रवेशद्धारमा स्वागत गरेसंगै भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप अस्पताल, ख्वप कलेज, ख्वप मावि र ख्वप कलेज अफ ल समेतको स्थलगत अवलोकन गरेका हुन ।

भेटमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, चिङ्काङ्शानका उपनिर्देशक ऊ जुआनजुआनलगायतको उपस्थिति रहेको थियो । भेटमा नगर प्रमुख प्रजापति र उपप्रमुख ह्वामिङबीच उपहार आदानप्रदान भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.