भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

म्याग्दी । मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ। धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो। २०७५ देखि पूर्वाधार निर्माण शुरु भएको यो आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन्। डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन्।

आयोजनाको पूरा क्षमतामा निर्माणलाई पुनः अघि बढाउने गरी तयारी भइरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिए। उनले यसअघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको जानकारी दिए। ‘अब फेरि सुरुङको काम शुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ। यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्नेगरी प्रबन्ध मिलाउँदै छौँ। अहिले पनि कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ’, आयोजना प्रमुख रेग्मीले भने। उनका अनुसार, यो आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ।

कूल दुई हजार ८५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म ९९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ। पाँच वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाद्वारा आयोजनाको दुखुबेँसीको बालौटेमा निर्माण हुने विद्युत को शिलान्यास गरिएको थियो। तर यो आयोजनाको सुरुङबाहेक विद्युत् गृह र ड्यामसाइटतर्फ कुनै काम शुरु भएको छैन।

आयोजनाको सुरुङ निर्माणमा विस्फोटक पदार्थको अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवर्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। स्थानीयस्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ’ उनले भने। आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन्। मालिका –५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानी दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।

पाँच अर्ब १५ करोड कुल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्धक र सर्वसाधारणको शेयर लगानी रहने छ भने अन्य लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.