काठमाडौं । भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई बुधवार एउटा अदालतले १४ वर्ष जेल सजाय सुनाएको छ । खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाएको थियो ।
दुवै सजाय सँगसँगै जाने ठानिएको छ । तर त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ । पाकिस्तानमा हुन लागेको निर्वाचनको एक साताअघि खानलाई दुइटा मुद्दामा सजाय तोकिएको हो । आगामी निर्वाचनमा इमरान खानलाई प्रतिस्पर्धा गर्न यसअघि नै रोक लगाइएको छ ।
सन् २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट हटाएका खानले यसअघि नै भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर भएपछि तीन वर्षको कैद भोगिरहेका छन् । उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन् ।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन् । खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन् । यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए ।
सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई शान्त रहँदै फेब्रुअरी ८ मा आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिनू आह्वान गरेका थिए ।
डेढ अर्ब रुपैयाँ जरिबाना, दुईवटा मुद्दा
अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिबाना समेत तिर्न आदेश दिएको छ । खानले नेतृत्व गरेको तहरिक ए इन्साफ पार्टी पीटीआईका अध्यक्षले अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको दाबी गरेका छन् । उच्च अदालतले उनलाई तोकिएको जेल सजायको फैसला उल्ट्याउने विश्वास उनको दलका नेताहरूले गरेका छन् ।
उनका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन् । पीटीआईका अनुसार अदालतको सजायले खानलाई १० वर्षसम्म सार्वजनिक पदमा रहनबाट समेत वञ्चित गर्ने छ ।
खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए। उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने। गत अगस्टमा पक्राउ परेका खान अहिले रावलपिन्डीस्थित जेलमा छन्।
इमरान खान र बुशरा बिबीको बिहे
सन् २०१८ मा खान प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै उनको बुशरा बिबीसँग बिहे भएको थियो । खान प्रधानमन्त्रीको पदमा हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन् ।
खान प्रधानमन्त्री हुँदा प्राप्त भएका राजकीय उपहारहरू निजी प्रयोजनका लागि राखेको वा बिक्री गरेको आरोप खान दम्पतीलाई लागेको थियो ।
बुधवार अदालतले त्यही मुद्दामा फैसला सुनाएको हो। खान दम्पतीले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहर गरेको थियो ।
निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना ९सरकारी स्वामित्वको एक विभाग० बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो ।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो ।
