भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

म्याग्दी । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । “घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उनले भने, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ । कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौँ ।”

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.