सडक मानवमुक्त सहर बनाउने लक्ष्यसहित महानगरद्वारा सरोकारवालासँग संयुक्त छलफल

सडक मानवमुक्त सहर बनाउने लक्ष्यसहित महानगरद्वारा सरोकारवालासँग संयुक्त छलफल

मुख्य बुँदा 

काठमाडौँ महानगरद्वारा सडक मानवमुक्त कार्यक्रमबारे संयुक्त छलफल

उद्धारपछि पारिवारिक पुनर्मिलन र पुनःस्थापनामा जोड

सीप विकास तालिम र रोजगार अवसर सिर्जना गर्ने योजना

लागूऔषध दुर्व्यसनमा फसेकाहरूलाई सुधार केन्द्रमार्फत पुनःस्थापना

मानवअधिकारमैत्री र सहभागितामूलक व्यवस्थापन मोडेल तयार गर्ने तयारी

काठमाडौँ, २८ चैत्र । काठमाडौँ महानगरपालिका ले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेको छ।

सडक, चोक तथा सार्वजनिक स्थलहरूमा सहयोग माग्दै जीवनयापन गरिरहेका अपाङ्गता भएका, दुर्व्यसनमा फसेका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनःस्थापनामा जोड्ने विषय छलफलको मुख्य एजेन्डा रहेको थियो। दृष्टिविहीन व्यक्तिहरू आकाशे पुल, पार्क तथा चोकहरूमा गीत गाएर सहयोग याचना गर्ने अवस्थालाई समेत व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको थियो।

छलफलका क्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले मानवीयता र मानवअधिकारका मापदण्ड पालना गर्दै काठमाडौँलाई सडक मानवमुक्त सहर बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै काम गर्न सक्ने क्षमताका व्यक्तिहरूलाई रोजगारी र सीप विकासमा जोड दिइने बताउनुभयो।

कार्यवाहक प्रमुख डङ्गोलका अनुसार सडक आश्रित मानव व्यवस्थापन गर्दा मानवअधिकारमैत्री र सहभागितामूलक ढङ्गले उद्धार गरिनेछ। उद्धारपछि व्यक्तिहरूको अवस्था पहिचान गरी अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र दुर्व्यसन अवस्थाअनुसार वर्गीकरण गरी आवश्यक सेवा उपलब्ध गराइनेछ।

महानगरपालिकाले अल्पकालीन आश्रय, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षणलाई उद्धार प्रक्रियाको पहिलो चरण बनाउने योजना अघि सारेको छ। अवस्था पहिचानपछि पारिवारिक पुनर्मिलन, सामाजिक पुनःस्थापना, रोजगारी तथा स्वरोजगारका लागि सीप विकास तालिम सञ्चालन गरिनेछ। स्वरोजगार गर्न चाहनेहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था समेत गरिने जनाइएको छ।

छलफलमा सहभागीहरूले परिवार र समाजबाट बहिष्करणका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सडकमा आश्रित हुन बाध्य भएको अनुभव साझा गरेका थिए। दृष्टिविहीन व्यक्तिहरूका लागि रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

युवाहरूमा लागूऔषध दुर्व्यसनको समस्या देखिएकाले उनीहरूलाई परिवारमा पुनर्मिलन गराउनुअघि सुधार केन्द्र तथा पुनःस्थापना केन्द्रमार्फत व्यवहार सुधार आवश्यक रहेको सुझाव समेत प्रस्तुत गरिएको थियो। साथै अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थासँग सहकार्य गरी पुनःस्थापना र सशक्तीकरणका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो।