भक्तपुर । बडा दशैंको अन्तिम दिन विजया दशमीका दिन प्रदर्शन गरिने खाँ पिहाँवैगु जात्राले नव नियुक्त पमाहरुको आगमनसँगै मौलिक स्वरूप पाएको छ । मध्यपुर थिमि नगरपालिकाको नगदेशमा खाँ पिहाँवैगु जात्रा लाग्ने गर्दछ ।
यो जात्राले ३५ वर्ष पछि मौलिक स्वरूप पाएको नगरपालिकाले जनाएको छ । शनिबार हर्षोउल्लासका साथ पृथक ढंगबाट नगदेशबासीले खाँ पिहाँवैगु जात्रा मनाइएका हुन । जात्रा तलेजु भवानीको प्रतीक खाँ अर्थात खड्ग प्रदर्शन गरी मनाइने जात्रा हो ।
यस जात्रामा लयाकूबाट तलेजु भवानीको मूल पूजा कोठामा तलेजुको प्रतिकमा पूजा गरेर राखिएको खड्गलाई विधिवत् रूपमा पूजाआजा गरी चालांको दिन बस्ती भरी परिक्रमा गराउने चलन छ । लयाकूको पिखुलाकु अर्थात लयाकूको आँगनमा स्थापना गरिएका कुमार देवताको प्रांगणमा भैफसी अर्थात कुबिन्डो काटेर सम्पन्न गरिन्छ ।
रातभरी बाजा गाजासहित पृथक नृत्य प्रस्तुत गरी जात्रा मनाइएको हो । जात्राको अवसरमा मल्लकालीन युद्धको झल्को दिने नाच प्रस्तुत गरिएको थियो ।