२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

मुख्य बुँदा

२२ वर्षपछि गुठीसम्बन्धी विद्वत समिति गठन हुने

गुठी ऐन २०३३ को दफा ७ अनुसार समिति गठन

२०६० पछि विद्वत समिति गठन भएको थिएन

जात्रा–पर्व सञ्चालनमा अवरोध आए राय–सुझाव दिने भूमिका

गुठी जग्गासम्बन्धी पुरानो प्रतिवेदन कार्यान्वयनको तयारी

गुठी संस्थान सञ्चालक समिति पूर्ण बनाइने

मठाधीश र पुजारीको पारिश्रमिक मापदण्ड बनाइने

सांस्कृतिक धरोहर व्यवस्थापन एकद्वार प्रणालीबाट

गुठी जग्गा संरक्षण र सर्वोच्च अदालतका फैसला कार्यान्वयन

काठमाडौँ, २१ पुष । गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ । गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिम विद्वत समिति गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको सेवा प्रवाहमा सुधारसम्बन्धी कार्ययोजनामा उल्लेख छ ।

विसं २०६० सम्म यस्तो समिति सरकारले गठन गर्ने गरेकामा त्यसपछि बन्न नसकेको गुठी संस्थानका सूचना अधिकारी एवं कानुन अधिकृत जनक पोखरेलले जानकारी दिए ।

संस्थानले सञ्चालन गर्नुपर्ने कुनै पनि जात्रा पर्वविशेष कारणवश हुन नसक्ने अवस्था आएमा समितिले राय, सुझाव दिने व्यवस्था गुठी ऐनमा रहेको उनले बताए।

यसैगरी मन्त्रालयको सेवा प्रवाहसम्बन्धी कार्ययोजनामा गुठी जग्गा सम्बन्धमा २०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा पेस भएको प्रतिवेदन लागू गर्न कार्यदल गठन गरिने उल्लेख छ ।

गुठी संस्थान, सञ्चालक समितिको तीन सदस्य नियुक्ति गरी सञ्चालक समितिलाई पूर्णता दिइने पनि कार्ययोजनामा उल्लेख छ । मठाधीश, पुजारीलगायतको पारिश्रमिक तोक्नेसम्बन्धी मापदण्ड तर्जुमा गर्ने कार्ययोजना पनि मन्त्रालयले बनाएको छ ।

मठाधीश नियुक्तिसम्बन्धी मापदण्ड संशोधनरपरिमार्जन गर्ने, श्रीगणेश र श्रीभैरबको आवासका लागि हनुमानढोकास्थित साबिक नवआदर्श माध्यमिक विद्यालयको भवन रहेको स्थानमा भवन निर्माणका लागि शिक्षा मन्त्रालयसँग जग्गाको भोगाधिकारका लागि समन्वय गरिने कार्ययोजना बनेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने क्षेत्र विकास समिति र गुठी व्यवस्थापन समितिबीच एकद्वार प्रणालीबाट सांस्कृतिक धरोहरको व्यवस्थापन गरिने विषयलाई पनि मन्त्रालयले कार्ययोजनामा राखेको छ ।

दोहोरो क्षेत्र अधिकारको विषय निराकरण गर्न यसले सहयोग गर्ने विश्वास लिइएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले बताए। तैनाथी, अधिनस्थ र तैनाथी गुठी जग्गाको लगत प्रमाणीकरण गरी सो लगत तयार गर्ने र त्यस्ता जग्गाको संरक्षण गर्ने, भूमि, गुठी, सहकारीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने मन्त्रालयलको कार्ययोजना छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.