अमेरिकी हिरासतमा रहेका भेनेजुएलाका नेता निकोलस मादुरोले जेलभित्रबाट आफ्ना तस्बिर सार्वजनिक गरेका छन् ।
मादुरोले परिवार र समर्थकलाई आफूहरू दृढ, शान्त र विश्वस्त रहेको सन्देश दिएका छन् ।
अमेरिकासँग भेनेजुएलाले ऐतिहासिक तेल सम्झौता गरेको केही दिनपछि मादुरोको सन्देश सार्वजनिक भएको हो ।
न्युयोर्क, १५ भदाै । अमेरिकी हिरासतमा रहेका भेनेजुएलाका नेता निकोलस मादुरोले जेलभित्रबाट आफ्ना तस्बिर सार्वजनिक गर्दै आफू दृढ रहेको सन्देश दिएका छन् ।
मादुरोले आइतबार सामाजिक सञ्जालमार्फत दुईवटा तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिरसँगै उनले परिवार, बालबालिका, नातिनातिना तथा आफूलाई माया गर्ने समर्थकका लागि सन्देशसमेत दिएका छन् । मादुरोले आफूहरू ‘दृढ रूपमा उभिएको’ उल्लेख गर्दै कठिन परिस्थितिमा पनि बलियो, शान्त र विश्वस्त रहने बताएका छन् । उनले भेनेजुएला पुनः उठ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सार्वजनिक तस्बिरमा मादुरोले खैरो रङको ट्र्याकसूट लगाएका छन् । उनले दुवै हातले शान्तिको सङ्केत गरेको देखिन्छ । यसअघि सार्वजनिक भएका तस्बिरको तुलनामा उनी केही दुब्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस हाल अमेरिकाको ब्रुकलिनस्थित जेलमा हिरासतमा रहेका छन् । उनीहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी आरोप लगाइएको छ । मादुरो र उनकी पत्नीले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन् ।
मादुरोले सार्वजनिक गरेका तस्बिरको मेटाडाटाअनुसार ती तस्बिर जुन २५ मा खिचिएका थिए । त्यस समयमा भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएको बताइएको छ । मादुरोले आफ्नो सन्देशमा कठिन परिस्थितिमा पनि आफूहरू बलियो र शान्त रहने उल्लेख गरेका छन् । उनले भेनेजुएलाको भविष्यप्रति आशावादी रहेको संकेत गर्दै देश पुनः उठ्ने बताएका छन् ।
मादुरोको पछिल्लो सन्देश भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले अमेरिकासँग ‘ऐतिहासिक’ तेल सम्झौताको घोषणा गरेको केही दिनपछि आएको हो । उक्त सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूलाई भेनेजुएलाको तेल क्षेत्रमा लगानी तथा सञ्चालनका लागि महत्वपूर्ण पहुँच दिने व्यवस्था गरिएको बताइएको छ । रोड्रिगेजले भने भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व र सार्वभौमसत्ता कायम राख्ने दाबी गरेकी छन् ।
मादुरोको पक्राउपछि काराकास र वासिङ्टनबीचको सम्बन्धमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ । अमेरिकी दबाबबीच अन्तरिम सरकारले आर्थिक तथा कूटनीतिक सम्बन्ध सुधारका लागि नयाँ बाटो अपनाइरहेको बताइएको छ ।
अमेरिकी हिरासतमा रहेका मादुरोलाई पत्रपत्रिका तथा इन्टरनेटको पहुँच सीमित गरिएको बताइएको छ । उनी निकट स्रोतका अनुसार मादुरोले परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग निश्चित समय कुराकानी गर्न पाउने गरेका छन् । मादुरोका छोरा निकोलस मादुरो गुएराले आफ्ना बुबाको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।
उनका अनुसार मादुरोले हिरासतमा अधिकांश समय बाइबल अध्ययन गर्ने गरेका छन् । न्युयोर्कको सङ्घीय अदालतले मादुरो र उनकी पत्नीविरुद्धको मुद्दाको सुनुवाइ सन् २०२७ जुन १ देखि सुरु गर्ने तालिका तय गरेको बताइएको छ ।
