DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आफू अनुकूल भए सम्बन्ध, नत्र बलात्कारमा फसाइदिन्छन्


  • आश्विन २२, २०७७
  • 457 Views
आफू अनुकूल भए सम्बन्ध, नत्र बलात्कारमा फसाइदिन्छन् image

विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहले असोज १२ गते १६ वर्षीया किशोरीलाई गाउँकै एक घरमा बोलाए। ती किशोरी पनि बाख्रा चराउन छाडेर साहलाई भेट्न गइन् । दुई जना मात्रै उक्त घरमा पुगेको थाहा पाएपछि गाउँकै अन्य युवाले किशोरीका भाइलाई बोलाएर ल्याए। स्थानीयका अनुसार ती किशोरकिशोरी बसेको कोठा खोलेर कुटपिट गर्न थाले। भाइले किशोरीको टाउकोसमेत फुटाइदिए।

घाइतेलाई उपचारका लागि विराटनगर लगियो। गाउँमा त्यसको हल्ला फैलियो।त्यसपछि गाउँका ‘पञ्च’हरू घटना मिलाउन सक्रिय भए। ती पञ्चले असोज १३ गते आरोपितका बुवा सिंहेश्वर साह र किशोरकिशोरी फेला परेको घरका धनी शत्रुधन साहसँग पाँच पाँच लाख रुपैयाँको कपाली तमसुक बनाए। सिंहेश्वरको धनीमा रामगुलाम यादव र शत्रुधनको धनीमा लक्ष्मण यादव बसे। प्रहरीका अनुसार तमसुकमा मिति पनि २०७५ साउन १ गते उल्लेख गरियो। कपाली लागू हुने मिति २०७७ असोज १५ गतेदेखि लेखिएको छ।

असोज १६ गते किशोरी उपचारबाट घर फर्किइन्। त्यसपछि फेरि पञ्चहरूले ‘पञ्चायत’ डाके। आक्रोशित स्थानीय युवाले पञ्चायतमा आरोपित मुकेश, उनका बुवा सिंहेश्वर र शत्रुधनलाई कुटपिट गर्न थाले। त्यो खबर इलाका प्रहरी कार्यालय विष्णुपुरमा पुग्यो। पञ्चसहित आरोपित पक्राउ गरे। तमसुकका धनीद्वय फरार छन्। घटना बाहिरिएपछि पीडित किशोरीकी आमाले प्रहरीमा जाहेरी दिइन्। आरोपित मुकेशविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए ।

गाउँमै घटना मिलाउन खोज्ने पञ्चहरूलाई पनि अपराध लुकाउन खोज्ने मतियारसम्बन्धी मुद्दामा छानबिनका लागि अदालतबाट १५ दिनको म्याद थप गरिएको प्रवक्ता शर्माको भनाइ छ । गाउँलेले घटना ढाकछोप गर्न पीडित परिवारलाई दबाब दिन थालेका छन्। दबाब झेल्न नसकेपछि पीडित किशोरी र उनकी आमाले गाउँ छाडेका छन्।

घटना— २
लहान नगरपालिका–२२ सिसवनी बर्छवाका २१ वर्षीय रामबाबु मण्डल गाउँकै एक २१ वर्षीया युवतीसँग दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। अभिभावकले भदौ ३ गते अबेर राति उनीहरूलाई समाते। त्यसपछि गाउँका ‘पञ्च’हरूबीच उनीहरूको बिहे गराइदिने भनेर छलफल सुरु भयो। तर, युवकका बुवाले दाइजो मागेपछि कुरा बिग्रियो। युवतीका बुवाले दाइजो दिन नसक्ने बताए।

पञ्चहरूले प्रहरी–प्रशासनमा जाने भनी भदौ १२ गते निर्णय गरे। सोही आधारमा युवती पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दामा जाहेरी दिए। आरोपित युवक गाउँ छाडेर भागेका छन्। दाइजोमा कुरा बिग्रिएपछि बिहे भाँडिएको युवतीका बुवाले बताए। घटनासम्बन्धी अनुसन्धान र युवकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापाले जानकारी गराए। यहाँ घटना १ मा पञ्चहरूले घटनालाई गाउँमै दबाउन खोजेको देखिन्छ।

कुटपिटका घटनाका कारण मात्रै प्रहरीसम्म पुग्यो। घटना २ मा भने प्रहरी–प्रशासनमा जान पञ्चहरू नै सक्रिय बने। यसले आफू अनुकूल भए कुनै पनि घटना गाउँमै मिलाउने, नत्र प्रहरी–प्रशासनमा पुग्ने गरेको यो घटनाक्रमले देखाउँछ। जघन्य अपराधमा गाउँमै पञ्चायत गरेपछि पीडितले न्याय नपाउने अधिकारकर्मी राजकुमार राउत बताउँछन्। त्यसमाथि पनि पञ्चहरूले आर्थिक चलखेल गर्ने गरेको देखिएको उनको भनाइ छ। ‘सहमतिमै शारीरिक सम्पर्क राखे पनि केटीको उमेर १८ वर्ष नपुग्दा जबरजस्ती करणीमै मुद्दा जान्छ’, अधिकारकर्मी राउत भन्छन्, ‘यस्तोमा फर्जी घटना बनाएर पनि प्रहरीमा जाने बढी छ।’

मुद्दामा राजनीतीकरण भएपछि पीडितले न्याय पाउन झन्झटिलो बन्दै गएको उनको ठम्याइँ छ। ‘ललाईफकाई सम्बन्ध बनाउने, शारीरिक सम्पर्क गर्ने र फेरि कुरा बाहिरिएपछि बलात्कार मुद्दामा जाने प्रवृत्ति बढ्दो छ’, उनी भन्छन्, ‘कसैले रिसइबी साध्न, स्थानीय नेताहरूले राजनीति गर्न, पैसाको चलखेल गर्न पनि बलात्कारजस्तो घटनालाई हतियारका रूपमा प्रयोग गर्छन्।’ जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा जबरजस्ती करणीका १७ र जबरजस्ती करणी उद्योगका पाँच घटना दर्ता भएका छन्।

२०७३ सालयता सिरहामा करणीका १ सय ५७ र उद्योग ७७ गरी २ सय ३४ वटा घटना प्रहरीमा पुगेका छन्। शारीरिक सम्बन्ध सहमतिमै हुने तर घटना बाहिरिएपछि बलात्कार मुद्दामा जाने प्रवृत्ति देखिएको प्रहरी स्रोतले जनाएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.