काठमाडाैं । एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट जोगाउने चुनौती रहेको बताएका छन् । स्थानीय निर्वाचनमा नेताहरूले गरेको अन्तर्घात नै पार्टी पराजयको मुख्य कारण भएको उनको निष्कर्ष छ । उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले पनि कम्तीमा सयवटा पालिका अन्तर्घातकै कारण गुमाउनुपरेको प्रारम्भिक विश्लेषण गरेको छ । चुनावको औपचारिक समीक्षाअघि केन्द्रीय कार्यालयले सबै जिल्लाबाट सात सय ५३ वटै पालिकाको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन माग गरेका वेला अध्यक्ष ओलीले निर्वाचनमा पार्टीको पराजयसँग मुछिएका नेताहरूको भूमिकाबारे निर्मम समीक्षा गर्ने संकेत गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केही केन्द्रीय सदस्य र २२ जनसंगठनका नेताहरू सहभागी मोर्चा संगठनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने–जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी जोगाउने भन्ने चुनौती थपिएको छ ।
केन्द्रीय पदाधिकारी, केही केन्द्रीय तहका नेता र २२ जनसंगठनका नेता सहभागी मोर्चा संगठनको बिहीबारको बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र एउटाले अर्कोलाई हराउन खोज्दा पार्टीले हारेको र एमालेलाई आफ्नै नेताहरूबाट बचाउने चुनौती थपिएको बताए । ‘जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।’
चुनावअघि एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई भूगोलमा केन्द्रित हुन निर्देशन दिएको थियो । तर, भूगोलमा पुगेका नेताहरू आफ्नो पालिकामा केन्द्रित नभएको र पार्टीले अगाडि सारेको उम्मेदवार हराउन केन्द्रित भएको रिपोर्ट आएको संकेत ओलीले बैठकमा गरेका थिए । ‘नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ,’ चुनावी पराजयको प्रारम्भिक समीक्षा संकेत गर्दै बैठकमा ओलीले भनेका थिए ।
केन्द्रीय कार्यालय, स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा निर्वाचनको समीक्षा गर्नुअघि एमाले केन्द्रीय निर्वाचन विभागले सबै पालिकाको मत संकलन गर्ने, विश्लेषण गर्नेलगायतको काम गर्दै आएको छ । उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको सो विभागले कम्तीमा सयवटा पालिका अन्तर्घातकै कारण गुमाउनुपरेको प्रारम्भिक विश्लेषण गरेको छ । निर्वाचन परिणाम आएका सबै पालिकामा विज्ञहरूको सहयोगमा पार्टीका तर्फबाट उम्मेदवार बनेका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्यतर्फ प्राप्त मतलाई निर्वाचन विभागले भिन्नाभिन्नै तरिकाले विश्लेषण गरिरहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । एमालेले त्यसरी विश्लेषण गर्दा सबैभन्दा धेरै ‘पपुलर मत’ पार्टीलाई आएको दाबी गर्दै आएको छ । सबैतिरबाट समीक्षा प्रतिवेदन आइसकेपछि समीक्षा बैठक बोलाउने एमालेको तयारी छ ।
चुनावपछि पहिलोपटक गत ११ जेठमा बसेको संसदीय दलको बैठकमा पनि ओलीले कांग्रेस र माओवादीमा नभएको अन्तर्घात एमालेमा खतरनाक ट्रेन्डका रूपमा देखिएको भन्दै विस्तृतमा समीक्षा गर्ने बताएका थिए । ‘कांग्रेसमा, माओवादीमा नभएको अन्तर्घात पार्टीमा देखियो, पार्टीभित्र देखिएको यस्तो खतरनाक ट्रेन्डको गम्भीर ढंगले विस्तृतमा समीक्षा हुनेछ,’ बैठकमा ओलीले भनेका थिए । बैठकले निर्वाचनमा महानगर, नगर र पालिकाहरूमा प्रमुख पदका उम्मेदवार हराउने खतरनाक अराजक प्रवृत्ति देखापरेको निष्कर्ष निकाल्दै त्यसबारे विस्तृतमा समीक्षा गर्ने निष्कर्ष निकालेको थियो ।
स्थानीय तहको निर्वाचनमा दुई सय पाँच पालिका प्रमुख जितेर एमाले दोस्रो भएको छ । निर्वाचनअघि अध्यक्ष ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई पराजित गरेर पहिलो दल बन्ने दाबी गरे पनि एमालेले अघिल्लो निर्वाचनभन्दा ९१ वटा प्रमुख पद कम जितेको छ ।
तीन सय २९ प्रमुख जितेर पहिलो दल बनेको कांग्रेसले एमालेलाई एक सय २४ प्रमुख पद बढी जितेर उछिनेको छ । अघिल्लो निर्वाचनमा दुई महानगर र सात उपमहानगर जितेको एमालेले यसपटकको निर्वाचनमा महानगरतर्फ प्रमुखविहीन भएको छ भने तीन उपमहागरको मात्र प्रमुख र उपप्रमुखको पद जितेको छ । यद्यपि, ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा र ललितपुरमा भारी मतान्तरसहित उपमेयर जितेको छ भने तीन उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै तथा थप चार उपमहानगरमा उपप्रमुख जितेको छ । महानगर र उपमहानगरका उपमेयरले भारी मतले जितेपछि पालिकाको प्रमुख पद गुमाउनुको प्रमुख कारण अन्तर्घात भएको निष्कर्षनजिक एमाले पुगेको छ । त्यसमाथि विस्तृतमा पार्टी बैठकबाट समीक्षा गर्ने एमालेको तयारी छ ।
संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष विष्णु पौडेल, जनसंगठनका इन्चार्ज र सहइन्चार्जहरू तथा जनसंगठनका अध्यक्षहरू सहभागी थिए । केन्द्रीय विभागलाई आकार दिँदै एमाले १३ वटा केन्द्रीय विभागमा सदस्यहरू मनोनीत, चारको मात्रै नामावली सार्वजनिक एमालेले केन्द्रीय विभागहरूलाई पूर्णता दिन थालेको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ३३ वटा केन्द्रीय विभागमध्ये बिहीबारसम्म १३ वटा केन्द्रीय विभागमा सदस्य मनोनीत गरिएको छ । तर, कार्यालयले चारवटा विभागमा मनोनयन भएका सदस्यको नामावली मात्रै बाहिर ल्याएको छ ।
किरण गुरुङ प्रमुख रहेको संघीय मामिला तथा प्रशासन विभागमा शिव गुरुङ, झलक सुवेदी, अभिकेशर ओली, माधव बास्तोला, पी. बिडारी, महेश खरेल, नरकुमार गुरुङ, पुण्य ढकाल, लेखनाथ कोइराला छन् । त्यस्तै, सुवास नेम्वाङ प्रमुख रहेको संसदीय मामिला विभागको सदस्यहरूमा खिमलाल भट्टराई, विशाल भट्टराई, पार्वती रावल, शान्ता चौधरी, नारायण मरासिनी, गणेश ठगुन्ना, सरिता न्यौपाने, विमला विश्वकर्मा, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल, राजबहादुर बुढा क्षेत्री, सूर्य पाठक र कृष्णभक्त पोखरेल मनोनीत भएका छन् ।
झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएका छन् । भीम आचार्य नेतृत्वको पर्यटन विभागमा कृष्ण अर्याल, राजेन्द्रप्रसाद सापकोटा, सोनाम ग्याल्जेन शेर्पा, टीका गुरुङ, सिर्जना शर्मा, सीताराम सापकोटा, घनेन्द्र श्रेष्ठ, रमेश कुँवर, बद्री अधिकारी, सुकमाया लामा, लक्ष्मी कार्की, पूर्णबहादुर कुँवर, जया बराल, चेतनारायण पाण्डे, कृष्ण चौधरी, सञ्जीव गौतम, लंकबहादुर शाही, सुमनप्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दास, विजय नेपाल, डा. आलोक प्रसाईं, गंगा आचार्य, नरेश भट्टराई सदस्य मनोनीत भएका छन् ।
नयाँ पत्रिकाबाट…
