DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एचआईभी पीडितलाई चिन्ता


  • बैशाख ५, २०७८
  • 550 Views
एचआईभी पीडितलाई चिन्ता image

काठमाडौँ । नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस  कोभिड–१९ सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उहाँमा छ ।

विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहनुभएकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

समाज सेवाको क्षेत्रमा क्रियाशील राईको चिन्तासँगै धेरैको जीवन जोडिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उहाँले पनि भोग्नुपरेको थियो । त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाउनुभएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुनुहुन्छ ।

राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आउनुभएको छ । विश्वलाई नै असर पारिरहेको यस महामारीका कारण अन्य व्यक्तिका साथै एचआईभीरएड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी एआरटी जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने राईले बताउनुभयो ।

एचआईभी÷एड्सको सङ्क्रमणलाई नबुझी समाजले तिरस्कार गर्ने कारणले धेरै महिला÷पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने उद्देश्यले सन् २००६ मा राईले शक्ति मिलन समाजको स्थापना गरेर काम गर्दै आउनुभएको छ । उहाँले संस्थामा कार्यकारी निर्देशकको भूमिकामा रहेर प्रभावितलगायत सहयोगी, स्वयंसेवी महिलासँग मिलेर एचआईभीरएड्सबारे जागरणको काम गर्दै आउनुभएको छ ।

यो संस्थाले सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन गर्दै ‘एक रुपियाँ’ अभियान, घरदैलो कार्यक्रम तथा परामर्श सेवा र संरक्षण गरी उद्धार नै गर्नुपर्नेहरूका लागि विभिन्न संस्थासँग समन्वय गर्दै सामुदायिक हेरचाह सेवा पनि सञ्चालन गर्दै आएको छ भने पछिल्लो समय आम्दानीको नियमित र दीर्घकालीन स्रोत व्यवस्थापनको उद्देश्यले फूलको नर्सरी सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
एचआईभी÷एड्स प्रभावितका लागि सरकारले एआरटी औषधि निःशुल्क उपलब्ध गराएको चर्चा गर्दै अभियन्ता सवनम नाम परिवर्तनले भन्नुभयो, “अन्य रोग लाग्दा बिरामीले सबैको सहानुभूति पाउँछन् तर एचआईभीरएड्स प्रभावित हुँदा उनीहरूलाई घृणाको दृष्टिकोणले हेरिन्छ, यसो गर्नु अन्याय हो ।”

यसबाट प्रभावित श्रीमान्का कारण नेपालमा धेरै महिला थाहा नै नपाई एचआईभी÷एड्सबाट प्रभावित भएका छन् भने असुरक्षित रगत, एउटै सुई धेरैले प्रयोग गर्ने अवस्थालगायतको माध्यमबाट एचआईभीरएड्स सर्दा महिलाले खुलेर बाँच्न पाउने हक गुमाएको, महामारी, प्राकृतिक विपत्ति, भूकम्पलगायतका समयमा उनीहरू एआरटी औषधि नपाउने, खाद्यान्नको समस्यामा पर्न सक्ने, जोखिमलाई राज्यले पनि ध्यान दिनुपर्ने उहाँको तर्क छ ।

हाल संस्थामा १३५ जना महिलाले प्रत्यक्ष सेवा पाइरहेका छन् भने प्रभावित १२५ जना बालबालिकाले शिक्षाका लागि सहयोग पाइरहेका छन् । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला÷पुरुष एचआईभी÷ एड्सबाट प्रभावित छन् । २१ हजार ७२० जनाले मात्र नियमित एआरटी खाइरहेका छन् । प्रभावितको तथ्याङ्कमध्ये बालबालिकाको सङ्ख्या मात्र १३ हजार ३६ छ ।

महासङ्घका वरिष्ठ कार्यक्रम संयोजक प्रकाशनाथ योगीले २९ हजारभन्दा बढी प्रभावितमध्ये आठ हजारभन्दा बढीले औषधि खाइरहेका छैनन् भने उनीहरूको खोजी हुनुपर्ने बताउनुभयो । साथै १३ हजार ३६ जना बालबालिकालाई ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत पोषण, उपचार र शिक्षाका लागि सामाजिक संरक्षण अनुदान सहयोग जुटाइरहेको संयोजक योगीले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.