भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महामन्त्रीप्रति संस्थापन पक्ष आक्रामक


  • श्रावण ६, २०८०
  • 205 Views
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महामन्त्रीप्रति संस्थापन पक्ष आक्रामक image

काठमाडौं । सार्वजनिक कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र नियतमाथि प्रश्न उठाउने कांग्रेस महामन्त्री गगन थापा पार्टीको आन्तरिक बैठकमा भने निसानामा परेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकको चौथो दिन संस्थापन पक्षका केन्द्रीय सदस्यहरू उनीप्रति आक्रामक देखिए । उनीहरूले अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि पनि प्रश्न उठाए ।

शुक्रबार धारणा राख्ने क्रममा अधिकांश संस्थापननिकट केन्द्रीय सदस्य सभापति देउवाका कदमको बचाउ गर्दै महामन्त्री र रूपान्तरण अभियानप्रति आक्रामक रूपमा प्रस्तुत भएका हुन् । बैठकमा महामन्त्री थापाले नेतृत्वको कार्यशैलीलाई लिएर गरेको टिप्पणी र संसदीय दलको नेता परिवर्तनको विषयमा दिएको अभिव्यक्तिबारे संस्थापन पक्ष आक्रामक बनेको हो ।

शुक्रबार ३३ केन्द्रीय सदस्यले धारणा राखेकामा अधिकांश संस्थापननिकट थिए । बैठकको सुरुवातमा धारणा राख्दै केन्द्रीय सदस्य आरजु राणा देउवा महामन्त्रीद्वयमाथि आक्रामक बनिन् । सुरुवातमै उनले महामन्त्रीद्वयको प्रस्तावले दूरगामी असर पर्ने कार्यक्रम ल्याउन नसकेको जिकिर गर्दै बरु सांगठनिक प्रस्ताव राजनीतिक दस्ताबेज नभई एनजिओको कार्यक्रमजस्तो देखिएको टिप्पणी गरिन् ।

‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्ताबेज आउँछ होला भन्ने सोचेको थिएँ । त्यो एक एनजिओको विसलिस्टजस्तो लाग्यो । कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहिँ के त रु योभन्दा दुई–तीनवटा उपलब्धिमूलक कार्यक्रम गरौँ र त्यो परिणाममुखी बनाऔँ,’ उनको भनाइ थियो । उनले महामन्त्रीद्वयले अगुवाइ गरिरहेका अनलाइनबाट सदस्यता वितरणको विषय पनि उठाइन् । ‘प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ । नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक छैन,’ उनको भनिन् ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिलाई कमजोर बनाएर पार्टी बलियो बन्न नसक्ने र संसदीय दलको नेता परिवर्तनको सपना नदेख्न चेतावनी दिए । ‘कांग्रेससामु प्रतिकूलता र चुनौतीका चाङ छन् । कामकुरो एकातिर कुम्लो बोकी कतातिर भनेजस्तो छ । अहिलेको आवश्यकता सभापति बदल्ने हो रु संसदीय दलको नेता बदल्ने हो रु आजै त्यो सोच त्यागौँ । पार्टीलाई एक गरेर लैजाने बाटोमा लागौँ । सभापति संस्थालाई कमजोर पारेर कांग्रेस बलियो बन्दैन,’ कार्कीले भने । उनले सभापति देउवाकोे नेतृत्वमा तीनै तहमा पहिलो पार्टीका रूपमा स्थापित भएको र सम्मान गर्ने संस्कृति बसाल्न आग्रह गरे ।

राजीव ढुंगानाले महामन्त्रीले सभापतिलाई खुइल्याउने र रूपान्तरण अभियानका नाममा सभापतिको आलोचना गर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरे । ‘सभापतिलाई खुइल्याउन सकियो भने ठूलो कांग्रेस बनिन्छ भन्ने प्रतिस्पर्धा नै चलेको छ । रूपान्तरण अभियान भनेर कार्यक्रम चलाइएको छ । भोलि फेरि तपाईंहरू नेतृत्वमा पुग्नुहोला, यस्तै अवस्थाले पार्टी चल्छ रु’ उनले भने, ‘आमजनताले कांग्रेसले के निर्णय गर्छ भनेर हेरेका छन् । बरु बैठक लम्ब्याऔँ । जनताको मुद्दामा छलफल गरौँ ।’

बलबहादुर केसीले बैठकमा सदस्यहरूले दुई क्याम्पका रूपमा सभापति र महामन्त्रीलाई प्रस्तुत गरेको जिकिर गरे । उनले मूल एजेन्डा र विचारमा भन्दा पनि सभापति र महामन्त्रीबीच द्वन्द्वको अवस्था देखाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘अहिले गठबन्धन पनि जोगाउन र पार्टी पनि जोगाउनुपर्ने अप्ठ्यारो अवस्थामा छौँ । हामीले गरेको निर्णयले नै यो अवस्थामा छौँ । तर, बैठकमा मूल एजेन्डामा भन्दा महामन्त्री एउटा क्याम्पमा, सभापति अर्को क्याम्पमा जसरी प्रस्तुत भएका छौँ । बैठकमा सभापति र महामन्त्रीबीच द्वन्द्व गराउन खोजियो । यो बैठकको सन्देश राम्रो गएको छैन,’ केसीले भनेका थिए ।

मीनाक्षी झाले सभापतिको आलोचना गरेकोमा समेत असन्तुष्टि जनाउँदै अनलाइन सदस्यता वितरणमाथि प्रश्न गरिन् । ‘थोकका भाउमा सदस्यता वितरण गरेर पार्टी क्याप्चर गर्न खोजेर हुँदैन । फेसबुकमा गाली गरेर सभापति हटाउने कुरा जायज होइन,’ उनको भनाइ थियो ।

उद्योगमन्त्रीसमेत रहेका रमेश रिजालले सभापतिलाई आलोचना गरेर माथि पुग्छु भन्ने भ्रमबाट टाढा रहनुपर्ने बताए । ‘हामीले लड्नुपर्ने कोसँग को, त्यो लडाइँ छाडेर विचारका लागि लड्नुपर्ने ठाउँमा सभापतिलाई उछितो काढेर माथि पुग्छु भन्ने भ्रमबाट टाढा हुनुपर्छ । एकले अर्कोलाई खुइल्याएर पार्टी चल्दैन,’ रिजालले भने ।

लक्ष्मी परियारले महामन्त्रीको सांगठनिक कार्यतालिका व्यावहारिक नभएको बताइन् । ‘सबै कुरा हेरेर पार्टीलाई निरन्तर बलियो बनाउन लाग्नुपर्नेछ । तर, फल लागेन भनेर रूखको टुप्पोमा बसेर फेद काट्न लगाउनेलाई के भन्ने रु’ उनले भनिन्, ‘महामन्त्रीको प्रस्तावले नेताहरू कामकाजी त भयौँ, तर सहरका कांग्रेसीलाई हेरेर बनाइएको योजनाले गाउँलाई समेटेन ।’

सहरी विकासमन्त्रीसमेत रहेकी सीता गुरुङले जनताको आशा र भरोसा जोडिएको पार्टीलाई अभिव्यक्ति र कार्यशैलीले निराशा छर्ने छुट नभएको बताइन् । उनले अनलाइन सदस्यताको विषयलाई समेत जोडेर महामन्त्रीमाथि प्रश्न गरिन् । ‘हिजो व्यवस्था बदल्न लाग्यौँ, अब जनताको स्तर सुधार्न लाग्नुपर्छ । समसामयिक विषयमा पार्टीको दृष्टिकोण आउनुपर्छ । रूपान्तरण अभियान भनेर व्यवहारमा रूपान्तरण नभएर गाली–गलौजका लागि उत्रने समूह बन्यो,’ उनले भनिन्, ‘सदस्यको विषयमा क्वान्टिटी मात्रै बढाउने कि क्वालिटी पनि बढाउने रु स्पष्ट हुनुपर्छ ।’

केन्द्रीय सदस्यहरूले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई कार्यतालिका र बैठकका एजेन्डाको विषयलाई लिएर टिप्पणी गरेका थिए । धारणा राख्ने क्रममा कांग्रेसले जनजीविका र समसामयिक विषयमा पार्टीको धारणा बनाएर जानुपर्ने बताए । साथै, कांग्रेस रूपान्तरण अभियानका विषयमा पनि सदस्यले प्रश्न उठाएका थिए । प्रदीप पौडेलले कांग्रेस संकटमा छ भनेर आत्ममूल्यांकन गर्न जरुरी रहेको बताए । ‘पार्टीको स्वास्थ्यमा समस्या छ । सिटामोलले काम गर्ने अवस्था छैन, कतिपय अवस्थामा सर्जरी नै आवश्यक छ,’ पौडेलले भने । मंगलबारबाट जारी बैठकमा एक सय ६ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्नेछ । सोमबार बैठक सम्पन्न गर्ने तयारी छ ।

केन्द्रीय सदस्यहरूको सुझाव– अहिलेको प्रणालीले पार्टीको बहुमत आउँदैन, निर्वाचन प्रणाली फेरौँ
बैठकमा केन्द्रीय सदस्यले विद्यमान मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत ल्याउन नसक्न भन्दै निर्वाचन प्रणाली फेर्न सुझाव दिएका छन् । प्रदीप पौडेलले निर्वाचन प्रणालीका कारण मुलुकले स्थायी सरकार र राजनीतिक अस्थिरताको अवस्था झेल्नुपरेको भन्दै दुई सय एक सिट प्रतिनिधिसभामा प्रत्यक्ष र राष्ट्रिय सभामा ३५ सिट समावेशी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने सुझाव दिए । ‘निर्वाचन प्रणाली परिवर्तनको आवश्यकता छ । प्रतिनिधिसभामा दुई सय एक सिटमा प्रत्यक्ष निर्वाचन गराँै र समावेशी प्रतिनिधित्वका आधारमा राष्ट्रिय सभा ३५ सिट बनाऔँ । अब केन्द्रले लादेर होइन जनता र कार्यकर्ताले टिकट दिएर चुनाव जित्ने अवस्था बनाऔँ । एक व्यक्तिलाई कतिसम्म टिकटको मौका दिने भन्ने व्यवस्था गर्नुपर्छ गरौँ,’ पौडेलको भनाइ थियो ।

केन्द्रीय सदस्य आरजु राणा देउवाले महिला मात्रै महिला प्रतिस्पर्धाका लागि एकतिहाइ सिट बनाउन सुझाव दिइन् । अर्का केन्द्रीय सदस्य चिरीबाबु महर्जनले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरताले प्रश्रय पाएको बताए । ‘प्रतिनिधिसभामा समानुपातिक व्यवस्था हटाऔँ । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई टिकट दिऔँ । महिला, दलित, अल्पसंख्यक सबैलाई प्राथमिकता दिऔँ । बहुमतको सरकार बन्ने अवस्था करिब–करिब बन्छ । धेरै राजनीतिक समस्या समाधान हुन्छ,’ महर्जनको भनाइ थियो ।उमा रेग्मीले पनि बहुमतका लागि निर्वाचन प्रणाली सुधार हुनुपर्ने बताइन् । ‘यही प्रणालीमा पार्टीले बहुमत ल्याउन सक्दैन । प्रणाली बदलौँ,’ उनको भनाइ थियो ।

खाणको बचाउमा अनौठा तर्क
कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका मीन विश्वकर्माले खाणको विषयमा निलम्बनको विषय उठाउनेमाथि आक्रोश पोखे । ‘परिवारको सदस्य मुछियो भने हामी वकिल राख्छौँ कि राख्दैनौँ, कि थपक्क थानामा पुर्‍याउन जान्छौँ रु घरको सदस्य अपराधमा मुछिँदा लुकाउँछौँ कि पक्रेर थानामा लगेर बुझाउँछौँ रु कांग्रेस एउटा परिवारको सदस्यलाई लाञ्छना लाग्दा छिटो पक्र भनेर डेलिगेसन जाने रु त्यत्रो ठूलो आदर्शवादी भइसक्यौँ हामी रु कार्यसमितिले दोषी ठहर गर्छ भने वकिल पनि राख्नुभएन, बहस पनि गर्नुभएन । कांग्रेस त्यस्तो सर्वोच्च अदालत हो दोषी ठहर नहुँदै हामीले अहिले ठहर गर्ने रु’ विश्वकर्माको भनाइ थियो ।

उद्योगमन्त्रीसमेत रहेका रमेश रिजालले अरू पार्टी आफ्ना नेता–कार्यकर्ता जोगाउन लाग्ने गरेको भन्दै कांग्रेसमा भने समस्याको समयमा जाइलाग्ने प्रवृत्ति रहेको बताए । ‘अरू पार्टीका मान्छे आफ्ना साथी जोगाउन मरिहत्ते गर्छन् । हामीचाहिँ हाम्रै कार्यकर्ता साथीलाई दुःख परेका वेलामा काखी बजाउँछौँ, यो तरिकाले पार्टीको भविष्य हुँदैन,’ उनले भने ।

ध्रुव वाग्लेले अदालतमा विचाराधीन मुद्दामा खाणलाई निलम्बनको माग गर्नु गलत भएको बताए । ‘अदालतको फैसलापछि मात्रै को दोषी हो, को होइन भन्ने स्पष्ट हुन्छ । न्यायालयको फैसला कुर्नुपर्छ कि पर्दैन रु’ उनले भने ।

अजय चौरासियाले खाणको विषयमा सञ्चारमाध्यममा बोलेर कांग्रेस नेताहरूले नै मुद्दा प्रभावित बनाउन चाहेको आरोप लगाए । ‘बालकृष्ण खाण थुनामा हुनुहुन्छ । मिडियामा कांग्रेसकै मान्छेहरू मुद्दा फैसला गर्दा अप्ठ्यारो पर्छ कि पर्दैन रु भोलि न्यायाधीशले सफाइ दिने आँट गर्न सक्छ कि सक्दैन रु’ उनले भने । ईश्वरी न्यौपानेले पनि खाणविरुद्ध आफ्नै पार्टीका नेता लाग्नु दुःखद भएको बताइन् । ‘हाम्रा नेता जेल परेका छन् । घरका साथी पर्दा हामीलाई दुःख लाग्नुपर्ने होला नि रु फैसलाका लागि अदालत छ, तर फलानोलाई पक्रनुभो भनेर वाहवाह गर्ने अवस्था छ र रु’ उनले सोधिन् । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.