भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दल त्याग : कसलाई नाफा, कसलाई घाटा र ?


  • मंसिर २४, २०७९
  • 206 Views
दल त्याग : कसलाई नाफा, कसलाई घाटा र ? image

काठमाडौं । नेपाली राजनीतिमा एउटा भनाइ नै छ–जोगी हुन कसैले पनि राजनीति गर्दैन। अर्थात्, शक्ति र सत्ता हत्याउनकै लागि राजनीति गर्नेहरूको संख्या अधिक छ। त्यसैकारण चुनावमा टिकट हात पार्न नेताहरू अनेक चलखेल गर्छन्। टिकट नपाए रातारात पार्टी छोड्ने र अर्को पार्टीबाट उम्मेदवार बन्ने त परम्परा नै बनिसक्यो। पार्टी छोडेर अर्को पार्टीबाट टिकट लिने वा पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेकामध्ये क—कसलाई चुनाव फाप्यो र कसलाई फापेन रु अन्नपूर्णको विश्लेषण।

जब मुलुकमा चुनाव आउँछ, पार्टी छोड्ने र प्रवेश गर्नेको लहर नै चल्छ। त्यसको प्रमुख कारण हो– टिकट। अर्थात्, आफ्नो पार्टीबाट टिकट पाउने सम्भावना नभएपछि अर्को पार्टीमा प्रवेश गर्ने र त्यसबाट टिकट हत्याउने। केही भने टिकट नपाएपछि आफूमाथि अन्याय महसुस गर्दै ‘स्वतन्त्र’ उम्मेदवार बन्छन्। यो नेपाली राजनीतिको संस्कार नै हो। हालैको प्रतिनिधिसभा÷प्रदेशसभामा निर्वाचनका बेला पनि पार्टी छोड्दै अर्को पार्टी वा स्वतन्त्र उम्मेदवार बन्नेको संख्या अधिक थियो।

त्यसरी पार्टी त्याग गर्ने निर्णय भने सबैलाई फापेको देखिएन। केहीलाई भने जनताले ‘सही निर्णय’ गरेको भन्दै चुनावमा जिताए पनि। चुनावमा उम्मेदवार बन्न पार्टीले टिकट नदिएपछि पार्टी छोडने र नयाँ पार्टीमा प्रवेश गर्ने कुरा नेपाली राजनीतिमा नौलो होइन।

जसलाई फाप्यो
उम्मेदवारी दर्ताको केही दिन अघिमात्रै कञ्चनपुरका तारा लामाले एकीकृत समाजवादी पार्टी छोडे। पुरानो पार्टी एमालेमै फर्केका लामा कञ्चनपुर– १ मा उम्मेदवार बने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी एवं पूर्वमन्त्री वीना मगरलाई लामाले चुनावमा फराकिलो मतान्तरले पराजित गरे। लामालाई पार्टी त्याग फलिफाप नै भयो। लामाले २४ हजार ८ सय ९२ मत पाए भने मगरले १९ हजार ३ सय ४६ मत मात्रै पाएकी थिइन्।

कपिलवस्तुमा चर्चित नाम हो– मंगल चाचा अर्थात्, मंगलप्रसाद गुप्ता। २०७० मा उनी तमलोपाबाट चुनाव लडेका थिए। त्यतिबेला चुनाव हारे। यसपटक एमालेमा प्रवेश गरे र चुनाव जिते। कपिलवस्तु–३ मा उम्मेदवार बनेका ‘मंगल चाचा’ले कांग्रेसका निवर्तमान सांसद अभिषेकप्रताप शाहलाई पराजित गरे। ‘मंगल चाचा’ ले २२ हजार ६ सय १९ मत पाए भने शाहले १८ हजार ९ सय ८२ मत मात्रै पाए।

चुनावको पूर्वसन्ध्यामा जसपा त्यागेर एमाले प्रवेश गरे, लक्ष्मी महतो कोइरी। महोत्तरी– १ मा उम्मेदवार बनेका महतोलाई दल त्याग निकै फाप्यो। माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई महतोले पराजित गरे। चुनावअघि जसपा विभाजित भयो। डा। बाबुराम भट्टराईसहित महिन्द्र राय यादवले नेपाल समाजवादी पार्टी गठन गरे। भट्टराई त चुनाव लडेनन्। तर यादव माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही–२ मा उम्मेदवार बने। लोसपाका राजेन्द्र महतोलाई पराजित गरे। यस्तै, एमालेको टिकट छोडेर रौतहट–३ मा प्रभु साह र रौतहट–२ मा किरण साहले स्वतन्त्र उम्मेदवारी दिए। दुवैले चुनाव जिते पनि।

मोरङ–५ मा टिकट नपाएपछि एमालेका योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवार बने। र, चुनाव जिते। एमालेले त्यस क्षेत्रमा जसपाका राजकुमार यादवलाई समर्थन गरेको थियो।

जसलाई फापेन
राप्रपा नेपालका अध्यक्ष हुन्, कमल थापा। चुनाव जित्नकै लागि उनले पार्टीको चुनाव चिह्न त्यागे, एमालेको ‘सूर्य’ रोजे। एमालेको समर्थनमा मकवानपुर–१ मा उम्मेदवार बने। तर जनताले पत्याएनन्, पराजित भए। त्यो पनि पार्टीकै पूर्वसहकर्मी एवं राप्रपाका उम्मेदवार दीपक सिंहसँग। थापा निकटतम प्रतिद्वन्द्वी पनि बन्न सकेनन्। २७ हजार ८ सय १६ मत ल्याई सिंहले चुनाव जिते। तेस्रो भएका थापाले २५ हजार ४ सय २० मत मात्रै पाए।

बागलुङ–२ मा एमाले उम्मेदवार थिइन्– मञ्जु शर्मा चालिसे। चुनावको केही समयअघि मात्रै कांग्रेस त्यागेर उनी एमाले प्रवेश गरेकी थिइन्। उनलाई पनि दल त्याग फापेन। सत्ता गठबन्धनका देवेन्द्र पौडेलसँग चुनावमा पराजित भइन्। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री पौडेलले २४ हजार ७ सय ७९ मत ल्याए। चालिसेले २० हजार १ सय ८० मत मात्रै पाइन्।

चुनावको मुखमा एमाले छोडेर माओवादी प्रवेश गरेका हरिबहादुर रानालाई पनि दल त्याग फापेन। झापा–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राना एमालेका देवराज घिमिरेसँग चुनाव हारे। गठबन्धनका साझा उम्मेदवार राना निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन्। २८ हजार ६ सय ९७ मत ल्याई एमालेका घिमिरे विजयी बने। निकटतम प्रतिद्वन्द्वी भद्रप्रसाद ९स्वागत० नेपालले २६ हजार ४ सय ४१ मत ल्याए भने रानाले १३ हजार ९ सय २४ मत मात्रै पाए।

टिकट नपाएपछि आफूमाथि अन्याय महसुस गर्दै ‘स्वतन्त्र’ उम्मेदवार बन्छन्। यो नेपाली राजनीतिको संस्कार नै भएको छ।
केहीले पार्टी छाडेर अन्यमा लागेर उम्मेदवार बन्दा
प्रदेश सदस्यमा पनि जित्न सकेका छैनन्।
पार्टी परिवर्तन गर्नेमा ठूला दलका नेता धैरै छन्।
राप्रपा नेता राजेन्द्रवीर रायले चुनाव अघि पार्टी छोडे। एमाले प्रवेश गरेलगत्तै चुनावमा टिकट पनि पाए। तर एकीकृत समाजवादीका प्रकाश ज्वालासँग सल्यानमा निकै ठूलो मतान्तरले चुनाव हारे। ३५ हजार ७ सय मत ल्याई ज्वाला विजयी हुँदा रायले १३ हजार २९ मत मात्रै पाए।

टिकट नपाएपछि एमाले नेता घनश्याम भुसालले पार्टी छोडे। रूपन्देही–१ मा ‘स्वतन्त्र’ उम्मेदवार बने। सत्ता गठबन्धनले सहयोग गर्‍यो। तर चुनाव जित्न सकेनन्। पूर्व सहकर्मी एवं एमाले सचिव छविलाल विश्वकर्मासँग भुसालले चुनाव हारे। विश्वकर्माले २४ हजार ८ सय ८२ मत पाए। भुसालले २१ हजार ३ सय १८ मत मात्रै पाए। दलित समुदायबाट प्रत्यक्षमा चुनाव जित्ने विश्वकर्मा एक्लो सांसद हुन्।
चुनावमा टिकट नपाएपछि निवर्तमान सांसद गंगा चौधरी ९सत्गौवा० ले एमाले छोडिन्। हाम्रो नेपाली पार्टीबाट दाङ– १ मा चुनाव लडिन्। तर, जमानतसमेत जोगाउन सकिनन्। एकीकृत समाजवादीका मेटमणि चौधरीले चुनाव जित्दा सत्गौवाले जम्मा १ हजार ९३ मत मात्रै पाइन्।

निर्वाचनका चर्चित पात्रमध्ये थिए, अब्दुस सलाम मिया। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखा–२ मा चुनाव लडेका थिए। साझा पार्टी छोडेर चुनावको मुखमा मात्रै मियाँ एमाले प्रवेश गरेका थिए। काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेका मियाँलाई एमालेले गोरखा–२ मा टिकट दिएको थियो। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै ठूलो मतान्तरले चुनाव हारे। प्रचण्डले २६ हजार १ सय ३ मत ल्याए भने मियाँले ७ हजार ३ सय ९५ मत मात्रै पाए।

कांग्रेसका केन्द्रीय सदस्य थिए, दिनेश कोइराला। उनलाई पार्टीले टिकट दिएन। चितवन–३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरे। एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी कोइरालालाई समर्थन जनायो। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार थिए। तर चुनाव भने राप्रपाका नेता विक्रम पाण्डेले जिते।

चुनावको मुखमै उमाशंकर अरगरियाले लोकतान्त्रिक समाजवादी पार्टी त्यागे। उनी एमालेमा प्रवेश गरे। धनुषा– २ मा एमालेबाट उम्मेदवार बने। तर, चुनाव जित्न सकेनन्। कांग्रेसका रामकृष्ण यादवले २० हजार १ सय १२ मत ल्याएर विजयी भए। अरगरियाले १९ हजार ९ सय ९५ मत पाए। एमाले परित्याग गरी ‘स्वतन्त्र’ उम्मेदवार बनेका थिए, महोत्तरीका रामआधार कापर। महोत्तरी– ३ मा प्रतिनिधिसभा सदस्यमा उठेका कापर चुनावमा तेस्रो भए।

बाराका लालबाबु सिंह भुइहार उम्मेदवार मनोनयनकै दिन कांग्रेस परित्याग गरेर लोसपा प्रवेश गरे। बारा–३ मा उम्मेदवार बने। तर, पराजित भए। उनलाई पनि पार्टी त्याग फापेन। पार्टीबाट टिकट नपाएपछि पर्सा कांग्रेसका पूर्वजिल्ला सभापति अजय द्विवेदी स्वतन्त्र उम्मेदवार बने। पर्सा–१ मा उठेका द्विवेदी जसपाका प्रदीप यादवसँग करिव १ हजार ६ सय मतले पराजित भए।

यस्तै, चुनावको केही साताअघि मात्र लोसपा छाडेर जसपाबाट पर्सा–२ मा उम्मेदवार बनेका सुरेन्द्र कुर्र्मीलाई पनि दल त्याग फापेन। कांग्रेसका अजय चौरसियासँग ६ हजारभन्दा बढी मतान्तरले कुर्मी पराजित भए। जसपा छोडेर पर्सा–३ मा नेपाल सुशासन पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए, राजकुमार यादव। एमालेका राजकुमार गुप्तासँग यादव पराजित भए।

माओवादी केन्द्र त्यागेर एमालेबाट पर्सा– ४ मा प्रतिनिधिसभा उम्मेदवार थिए, जालिम मियाँ। कांग्रेसका रमेश रिजाल निर्वाचित हुँदा मियाँ दोस्रो भए। २०७४ मा माओवादी केन्द्रबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित मियाँ हालैमात्र एमाले प्रवेश गरेका थिए। एमालेबाट टिकट नपाएपछि जनमत पार्टी प्रवेश गरे किशोरी साह ‘कमल’। जनमत पार्टीबाट धनुषा– १ मा उम्मेदवार बने। तर तेस्रो भए। जसपाका दीपक कार्की २७ हजार ४ सय ३१ मत ल्याएर विजयी भए। माओवादीका मातृकाप्रसाद यादव २१ हजार ४ सय ८३ मत ल्याएर दोस्रो भए।

जो पार्टी छोडेर प्रदेश सदस्य बने
राजकुमार लेखीले यसपटक एमाले प्रवेश गरेर प्रदेशसभा सदस्य बन्ने मौका पाए। सप्तरी–१९क० बाट उम्मेदवार बनेका लेखीले जनमत पार्टीका शिवनन्दन महतोलाई पराजित गरेका थिए। गत निर्वाचनमा लेखी राजपाबाट प्रदेशसभामा उम्मेदवार थिए। नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष रहेका बेला भने लेखी एमालेमै थिए।

चुनावको मुखैमा पार्टी परिवर्तन गरेर निर्वाचित हुने भाग्य शतिशकुमार सिंह र महेशप्रसाद यादवलाई पनि मिल्यो। सप्तरी–२९क० मा सिंह र ९ख० मा यादव उम्मेदवार थिए। माओवादीका महेश र लोसपाका शतिश चुनावअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए। दुवैले आफ्नै पूर्वसहकर्मीलाई फराकिलो मतान्तरले पराजित गरे।

पर्सा– ३९क० मा भने पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जयसवालले बाजी मारे। जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। निर्वाचन पिच्छे पार्टी परिवर्तन गर्ने हनुमाननगर नगरपालिकाका सकिल मियाँ यसपटक प्रदेश सभा सदस्य बनेका छन्। गत वर्ष माओवादीबाट लडेका मियाँले ६ हजार २ सय ५७ मत ल्याई तेस्रो भएका थिए। यसपटक जनमत पार्टीबाट लडेका मियाँले ६ हजार २ सय ६७ मतको फरकले जित निकाले। बहुदलीय व्यवस्था स्थापनापछि राप्रपाबाट जिविस सदस्य बनेका मियाँ केही वर्ष एमाले कार्यकर्ता भएर रहे। माओवादी केन्द्र छोडेर जसपा प्रवेश गरेका बाँकेका आदेश अग्रवाल प्रदेशसभा सदस्यमा विजयी भए।

जसपाबाट विद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका अनिरुद्धकुमार सिंह यादव भने प्रदेशसभा सदस्यमा ९ हजार ९ सय ८५ मत ल्याएर विजयी भए। उनले आफ्नै पूर्वसहकर्मी निवर्तमान प्रदेशसभा सदस्य अभिषेककुमार यादवलाई २ हजार ६५ मतले पराजित गरे।

जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र शेषनारायण यादव चुनावको केही समयअघि मात्रै कांग्रेस प्रवेश गरे। धनुषा–४ ९ख० उम्मेदवार बनेका यादवले चुनाव जिते। कांग्रेस छोडेर एमालेबाट टिकट लिएका सन्तोष यादव पराजित भए। एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका र मालासहित सन्तोषले टिकट लिएका थिए।

अघिल्लो निर्वाचनमा जसपाबाट प्रदेशसभा सदस्य बनेका शारदाशंकर कलवार यसपटक स्वतन्त्र उठेर बारा–२ ९१० को प्रदेशसभा सदस्य बने। जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। यसैगरी अघिल्लो पटक माओवादी केन्द्रको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित महम्मद समिर यसपटक नेकपा एमालेबाट उम्मेदवार भएर प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका समिर बारा ३ ९ख० बाट निर्वाचित भए। महोत्तरी–२ ९ख० मा स्वतन्त्रबाट चुनाव लडेकी सुरिता साहले पनि विजय हासिल गरिन्। लोसपाले टिकट नदिएपछि सुरिता स्वतन्त्र उम्मेदवार बनेकी थिइन्।

जसलाई प्रदेश सदस्यमा पनि फापेन
२०७४ मा हुम्लाबाट ‘स्वतन्त्र’ उम्मेदवार बनेर प्रतिनिधिसभा सांसद बनेका थिए–छक्कबहादुर लामा। त्यतिबेला माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए। यसपटक निर्वाचनको केही समय उनि एमाले प्रवेश गरे। र प्रदेशसभामा उम्मेदवार बने। तर निर्वाचन जित्न सकेनन्। जसपाबाट टिकट नपाएपछि निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले पर्सा–१ ९क० मा स्वतन्त्र उम्मेदवारी दिए। तर तेस्रो भए। कांग्रेसबाट टिकट नपाएपछि सुधीर पटेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले पनि चुनाव हारे।

पर्सा १ ९ख० मा लोसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश सर्राफ र शशीकपुर मियाँले पनि पराजय भोग्नु पर्‍यो। कांग्रेस छाडेर राप्रपाबाट चुनाव लडेका परमानन्द साह कानुले पनि चुनावमा सफलता पाएनन्। जसपाबाट टिकट नपाएपछि रूपेशमान सिंह, करिमा बेगम र मुकेश द्विवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिए। तर सबै पराजित भए। पर्सा–३ ९क० जसपा छाडेर एमालेबाट उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्य अब्दुलरहिम अन्सारी पराजित भए। यस्तै जसपा छोडेर नेपाल सुशासन पार्टीका उम्मेदवार बनेका शिवकुमार साहलाई पनि दल फेरेर चुनाव लडेको फापेन।

यसैगरी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रकिशोर चौधरीलाई पनि असफलता नै हात लाग्यो। पर्सा क्षेत्र नम्बर ३९ख० मा मनोनयन दर्ताकै दिन एमाले छाडेर नेकपा एकिकृत समाजवादीबाट टिकट लिएका प्रल्हाद गिरी पनि पराजित भए। मंसिर ४ को निर्वाचनको मिति घोषणा भएलगत्तै जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। एमालेले टिकट नदिएपछि गिरी एकीकृत समाजवादी प्रवेश गरेका थिए। यही क्षेत्रमा जसपाबाट टिकट नपाएपछि नेपाल सुशासन पार्टीको उम्मेदवार बनेका गौरीशंकर साह पनि पराजित भए। पर्सा ४९क ० मा जसपाबाट टिकट नपाएपछि वीरेन्द्र यादव र जरी लामा दुवैले स्वतन्त्र उम्मेदवारी दिएका थिए। दुवै जना पराजित भए।

एमाले छोडेर माओवादी केन्द्रका प्रवेश गरेका द्वारिकालाल चौधरी पनि प्रदेशसभामा पराजित भए। त्यस्तै माओवादी केन्द्र छोडेर एमालेबाट टिकट लिएका सिन्धुपाल्चोकका अमानसिंह तामाङ पनि प्रदेशसभा सदस्य बन्न सकेनन्। त्यस्तै माओवादी छोडेर जसपाबाट लडेका अम्मरबहादुर खडका पनि बाँकेमा पराजित भए। एमाले छोडेर नागरिक उन्मुक्ति पार्टीमा गएका रतन थापाले पनि चुनाव जित्न सकेनन्। २०७४ मा माओवादी केन्द्रबाट सुर्खेत–१ ९क० मा चुनाव जितेका थिए, ठम्मरबहादुर विष्ट। यस पटक उनी एमालेमबाट प्रदेशसभामा चुनाव लडे, पराजित भए। घनश्याम भुसाललाई टिकट नदिएपछि उनीसँगै एमाले छोडेर माओवादी केन्द्रमा गएका योगेन्द्र शाही दैलेखबाट प्रदेशमा लडे तर विजयी हुन सकेनन्।

कांग्रेस परित्याग गरी जनमत प्रवेश गरेका जिल्ला विकास समितिका पूर्वसदस्य रामप्रसाद मण्डल प्रदेशसभामा पराजित भए। पार्टीबाट विद्रोह गरी उम्मेदवारी दिनेहरूले जमानतसमेत जोगाउन सकेनन। पूर्वमन्त्री हेमराज तातेड, संविधानसभा सदस्य अशोक मण्डल, शम्भुबहादुर खड्का, महिदेवप्रसाद चौधरी, राधेश्याम पण्डित, सञ्जीवनारायण यादव, कासिम मियाँ, महेन्द्रप्रसाद चौधरी, राजदेव रामलगायतले जमानत पनि जोगाउन सकेनन्। यस्तै राप्रपा छाडेर नेमकिपाबाट उम्मेदवार बनेका महिदेवप्रसाद चौधरी र नेपाल समाजवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका राजदेव रामको पनि जमानत जोगिएन। निर्वाचनको मुखमा एमाले अध्यक्ष केपी ओलीको हातबाट खादा र माला पहिरिँदै सन्तोष यादव एमाले प्रवेश गरे।

बारा एमालेबाट चुनाव लडेका मियाँ लोसपा त्यागेर एमाले प्रवेश गरेका थिए। उम्मेदवारी मनोनयनको अघिल्लो दिन लोसपा छोडेर एमालेबाट टिकट लिएर मियाँ श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित भए। मिया अघिल्लो पटक बारा ४ बाट तत्कालीन राजपा हाल लोसपाबाट निर्वाचित भएका थिए। माओवादी केन्द्र परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार दिएका महोत्तरी क्षेत्र नं। १ ९ख० का विक्रम साह तेलीले चुनाव हारे। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.