DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पञ्‍चको मुट्ठीमा कानुन


  • आश्विन २१, २०७७
  • 248 Views
पञ्‍चको मुट्ठीमा कानुन image

जनकपुरधाम । अन्याय गर्नेविरुद्ध पञ्चैती गरेर निसाफ दिलाउने भएकोले पञ्चलाई तराईका गाउँहरूमा ‘पञ्च परमेश्वर’ को रूपमा पनि लिइन्छ। सोझो अर्थमा पञ्चलाई मधेसमा अर्को ‘भगवान्’ नै मानिन्छ। तर, पछिल्लो समय ‘पञ्च परमेश्वर’ले कानुनलाई मुट्ठीमा लिएर लाखौंमा बलात्कारजस्ता घटना मिलाउँछन्। अलिकति पीडितलाई दिन्छन्। बाँकी पञ्चहरूआफैं भाग लगाउँछन्। घटना मिलाएको दण्डको रुपैयाँले गाउँमा भोज पनि खुवाइन्छ। प्रदेश २ मा बलात्कार घटनामा पञ्चात गराउने १२ जना पञ्च हालै प्रहरी खोरमा जाकिएका छन्।

पहिले सामान्य वादविवाद, झैंझगडा, बाटोघाटोको विवाद हुँदा गाउँमै बसेर मेलमिलाप गराउँथे। अब त्यो रहेन। अहिले कमिसनको लोभमा महिला हिंसा, बलात्कार, हत्याजस्ता जघन्य अपराधलाई पनि गाउँमै मिलाएर पञ्चहरूले दबाउने गर्छन्। पीडित बालिका र महिलाको अस्मितालाई पैसामा साट्न पछि पर्दैनन्, पञ्चहरू। जबरजस्ती करणीका घटनालाई दबाउन पञ्चको भूमिकामा जनप्रतिनिधिहरूले पनि थपथाप गर्ने देखिएका छन्। पञ्चहरू जघन्य अपराधका घटना मिलाउन प्रहरीको कार्यालयसम्मै पुग्छन्।

पीडा भुल्न मृत्युको सहारा

नारीको अस्मितासँग पञ्चहरूले खेलवाड गर्दा सप्तरीमा गत भदौ ३० गते एक किशोरीले आत्महत्या गरिन्। बलात्कारको घटना मिलाउन गाउँमा पञ्चैती भयो। आफ्नो पीडामा गाउँलेको सहयोग पाउने पीडित बालिकाले अपेक्षा गरेकी थिइन्। तर, त्यसो भएन। पञ्चहरूले ५५ हजार रुपैयाँ पीडकबाट पीडितलाई क्षतिपूर्ति दिलाउने निर्णय गरे। प्रहरीमा उजुरी दिन जानबाट रोक लगाउँदै गरिएको फैसलामा पीडितले असन्तुष्टि जनाइन् र मृत्युको बाटो रोजिन्। घटनालगत्तै दुई जना आरोपित र चार जना पञ्चलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ।

बलात्कार लुकाउन १० लाखको खेल

छिमेकीको घरमा बोलाएर सिरहामा हालै मुकेशकुमार साहले किशोरीको बलात्कार गरे। विष्णुपुर–१ का मुकेशले गत असोज १२ गते किशोरीमाथि जबर्जस्तीकरणी गरेका थिए। उनको अपराधलाई पञ्चहरूले ५ लाखमा मिलाए। प्रहरीमा दर्ता हुनुपर्ने घटना मिलाएको खबर थाहा पाएर जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी शालिग्राम शर्माको नेतृत्वमाप्रहरी टोली गाउँमा पुग्यो। अनुसन्धानको क्रममा पीडकसँग ५ लाख र घटना भएको घरबालासँग ५ लाख गरी १० लाखको तमसुक कागज गराएको भेटिएको डीएसपी शर्माले बताए। उनले भने,‘ बलात्कार आरोपी र पञ्चात गरेर मिलाउन खोज्ने ८ जना पञ्चहरूलाई पक्राउ गरेका छौं।’ जरिवाना गरिएको १० लाखमध्ये ५लाख पीडितलाई दिने र ५ लाख पञ्चहरूले भाग लगाउने योजना बनाएको प्रहरी स्रोतले बतायो।

पञ्चको भेषमा जनप्रतिनिधि १
सप्तरीको विष्णुपुर गाउँपालिका–६ का वचवा सरदार र कोभिया सरदारले स्थानीय एक महिलामाथि बलात्कारको प्रयास गरे। गत असोज ११ गते राति उनीहरूले मदिरा सवन गरेर यौन तृष्णा मेटाउन ३६ वर्षीया महिलाको ओछ्यानमै पुगे र बलात्कार प्रयास गरे। रातको १ बजेकाले बिहान कुरा बुझ्ने भन्दै कोभियालाई गाउँलेले वडासदस्य रामकुमार रायको जिम्मा लगाए। बिहान बसेको पञ्चैतीमा कोभिया उपस्थित भए तर बचवा आएनन्। यो पञ्चैती वडा कार्यालयमै बस्यो। कुरा मिलेन। पीडकविरुद्ध उजुरी दिन पीडित महिला प्रहरीमा पुगेपछि मिलापत्र गराउनवडाअध्यक्ष बहादुर सदा र वडासदस्य प्रहरीमै पुगे।

सचिव छुटाउन २० लाखको लोभ
जबरजस्ती करणीको आरोपमा वडासचिव मिथिलेश यादव पक्राउ परेका छन्। महोत्तरीको भंगहा नगरपालिका—९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिव पक्राउ परेका हुन्। यस घटनामा २० लाख लिएर मिल्न गाउँका पञ्चहरूले पीडितलाई दबाब दिइरहेका छन्। पीडित महिलाले बलात्कारीसँग मिलापत्र नगर्ने चेतावनी दिएपछि उनीहरू फर्केर गए। त्यस लगत्तै भंगहा प्रहरीचौकीले सचिवलाई पक्राउ गरेको महोत्तरीका एसपी टीकाबहादुर केसीले जनाए।

अफर’ नस्विकारेपछि ज्यान मार्ने धम्की
गत असोज ९ गते धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा बलात्कृत किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की आयो। १५ वर्षकी बालिकाको बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन दबाब दिए। एक महिनाअघि चार जनाले ती बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। आरोपी दुई जना पुर्पक्षका लागि थुनामा छन्। राजनीतिक दलका नेतासहित आठ जनाको समूहले उक्त घटना ढाकछोप गर्न पञ्चैती राखेका थिए। अन्नपूर्णपोष्ट दैनिकबाट…….

 


Thali Mobile Pvt.Ltd.