फँडानी र तस्करीले नासिँदै महाभारत


  • माघ ८, २०७९
  • 14 Views
फँडानी र तस्करीले नासिँदै महाभारत image

डडेलधुरा । निरन्तर फँडानी, अतिक्रमण, वन्यजन्तु र जडीबुटीे तस्करीका कारण दुई दशकअघिसम्म घना रहेको महाभारत वन क्षेत्र सकिन लागेको छ । समुद्री सतहदेखि २ हजार ६ सय ७६ मिटर उचाइमा रहेको महाभारत जंगल क्षेत्र फँडानी र अतिक्रमणको चपेटामा पर्दै आएको हो । निरन्तर दोहनका कारण महाभारतमा जंगल मात्रै होइन दुर्लभ जडीबुटीसमेत संकटमा परेका छन् ।

बिसजडी, पाखनवेद, झ्याउ, सुगन्धवाल, कुरिलो, रिठ्ठा, अमला, काउलो, तेजपात, बोझो, टिमुर, अल्लो, लोक्ता, लौठसल्ला, हर्रो, बर्रो, चुत्रो, निगालो, चिउरी, कटुकी, सेल्पडे र तिते जस्ता दुर्लभ जडीबुटी महाभारत वन क्षेत्रमा पछिल्लो समयमा पाइन छाडेको छ । अधिकांश दुर्लभ जडीबुटीका जरासमेत उखेलेर तस्करी भइसकेका छन् । यस्तै लेकाली साल, सल्ला, देवदार, बाँझ, फलाट, ठिन्ग्रे सल्लो, खस्रु, सानन जस्ता काठको प्रयोजनका लागि प्रयोग हुने वन पैदावारमध्ये पछिल्लो समय सल्ला र ठिन्ग्रे सल्लोबाहेकका अधिकांश वन पैदावार समाप्त भइसकेका छन् । ‘जडीबुटीका जरासमेत उखेलेर बिक्री भइसकेका छन् भने काठमा प्रयोग हुने सल्लाबाहेक अरू भेट्टाउन मुस्किल भइसकेको छ,’ महाभारत लेकको पुरानो बस्ती काफलीका अगुवा शेरबहादुर थापाले भने, ‘निरन्तर वन पैदावार चोरी निकासी मात्र भएपछि आधा दशकयता महाभारत वन क्षेत्र उजाड बन्दै गएको छ ।’

महाभारतका अधिकांश खाली फाँटमा नयाँ मानव बस्ती बनेका छन् । बस्तीसँगै मोटरबाटो खन्ने होडबाजी चलेको छ । काफलीका शिक्षक विष्णु थापा पनि डडेलधुराको जीवनरेखा मानिने महाभारतको संरक्षण हुन नसक्दा पानीको चरम संकट उत्पन्न हुन थालेको बताउँछन् । ‘पानीको मुख्य स्रोत महाभारत हो,’ उनी भन्छन्, ‘पुसको पहिलो, दोस्रो साता हिमपात हुने महाभारतको २६ सय मिटर उचाइमा पर्ने भूभागमा केही वर्षयता हिमपात हुनै छाडेको छ, जसले गर्दा पानीका स्रोत सुक्न थालेका छन् ।’ महाभारत जंगल क्षेत्रका विभिन्न ठाउँमा नयाँ मानव बस्ती बसेका कारण वन्यजन्तुको करिडोर पनि नासिँदै जान थालेको उनले बताए । गत वर्ष पाटेबाघ देखिएको महाभारत क्षेत्रमा मृग, घोरल, चितुवा, सानो चितुवा, भालु जस्ता वन्यजन्तु पनि पछिल्लो समय देखिन छाडेका छन् ।

महाभारतको तल्लो क्षेत्र ६ सयदेखि १४ सय मिटर उचाइसम्म सल्लाका ठूलाठूला जंगल फँडानी भइसकेका छन् भने फँडानी हुने क्रम निरन्तर छ । आवादीको जंगलका नाममा सामुदायिक वनमा रहेका सल्ला काटिन थालेको एक दशकभन्दा बढी भएको छ । ग्रामीण क्षेत्रमा सडक बन्न थालेपछि धमाधम सल्लाका जंगल फँडानी भएका हुन् । डडेलधुरा भागेश्वर गाउँपालिकाको एक सामुदायिक वनका अध्यक्ष भन्छन्, ‘आवादी क्षेत्र भन्दै सरकारी र सामुदायिक जंगलमा छानीछानी सल्लाका जंगल काटिन थालेका हुन् ।’ उनका अनुसार वन डिभिजन कार्यालयसँग दुई आर्थिक वर्षमा कति सामुदायिक वनमा काठ काटियो भन्नेसम्म तथ्यांक पाइँदैन । ‘मिलेमतोमा यसरी फँडानी भएको स्थानीय तहलाई पनि जानकारी छ तर कसैले पनि रोक्ने र संरक्षण गर्ने पहल गरेको देखिन्न,’ उनले भने ।

पश्चिममा महाकाली नदीदेखि सुरु हुने महाभारत वन क्षेत्र पूर्वमा डोटीको घण्टेश्वर लेकदेखि डडेलधुरासम्म फैलिएको छ । डडेलधुराको कुल वन क्षेत्र १ लाख १५ हजार १ सय ६९ हेक्टरमध्ये ५३ हजार १४ हेक्टर वन क्षेत्र महाभारतले ओगटेको छ । भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलीताल गाउँपालिका र अमरगढी नगरपालिकाको अधिकांश भूभाग पनि महाभारत वन क्षेत्रमा पर्छ । महाभारत वन क्षेत्रमा ९० वटा सामुदायिक र ४० बढी कबुलियती वन छन् । तिनमा संरक्षणका काम गरेको देखिन्न । पछिल्लो समय महाभारत वन क्षेत्रको नापीसमेत भएको छैन । यसमध्ये हजारौं हेक्टर वन क्षेत्र अतिक्रमणमा परिसकेको डिभिजन वनका अधिकारीहरूले बताउने गरेका छन् ।

संरक्षण क्षेत्रमा कार्यरत व्यक्ति र संघसंस्थाको दबाबमा सरकारले २०६८ मा स्वीकृत गरेको महाभारत संरक्षित वन क्षेत्रको कार्ययोजना अहिलेसम्म राजपत्रमा प्रकाशित हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन । हरेक वर्ष डिभिजन वन कार्यालयमार्फत संरक्षणका नाममा आउने ३० देखि ५० लाखसम्मको बजेट गोष्ठी र सेमिनारमा सकाउने गरिएको छ । यसबाहेक सरकारीस्तरमा महाभारत संरक्षणका लागि कुनै पहल हुन सकेको छैन । दुई वर्षअघि तत्कालीन जिल्ला वन अधिकृत विष्णु आचार्यको टोलीले महाभारत वन क्षेत्रको पैदल भ्रमण गरी तीन भागमा बाँडेर संरक्षणको पहल सुरु गरेको थियो । प्रमुख वन क्षेत्र, प्रभावित वन क्षेत्र र मध्य वन क्षेत्रमा विभाजित गरी संरक्षणका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र सरोकारवालालाई प्रशिक्षण दिइएको थियो । पूर्ववन अधिृकत विष्णु आचार्यको सरुवासँगै संरक्षणको उक्त अभियान पनि सेलाएर गयो । ‘महाभारत क्षेत्र मध्यपहाडी जिल्लाको लाइफलाइन हो,’ आचार्यले भने, ‘सरकारले व्यवस्थित रूपमा महाभारत संरक्षण र यसको उपयोगको नीति बनाएर काम गर्ने हो भने रोजगारी पनि सिर्जना हुन सक्छ ।’ वन ऐन २०७६ अनुरूप महाभारत वन क्षेत्रमा पदमार्ग, होमस्टे, जैविक पर्यटनका कार्यक्रम लागू गर्न सके डडेलधुरा, डोटी जस्ता जिल्लामा संरक्षण हुने उनको भनाइ छ ।

महाभारसंँग जोडिएका मानव बस्ती र सरोकारवालाको अपनत्व नहुनु नै संरक्षणको प्रमुख चुनौती भएको वन डिभिजनले आफ्नो अध्ययनमा देखाएको छ । दुई वर्षअघि गरिएको अध्ययनमा वातावरणीय प्रभाव मूल्यांकन गरी स्थानीय तहले गरिरहेका भौतिक पूर्वाधार निर्माणलाई पनि संरक्षणको प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ । तीनवटै तहका सरकारबीच महाभारत संरक्षणका लागि आवश्यक समन्वय हुन नसक्नु पनि अध्ययनले चुनौतीका रूपमा देखाएको छ । ‘राजनीतिक संरक्षणमा भइरहेको फँडानी र अतिक्रमण अर्को प्रमुख चुनौती हो,’ अध्ययनको नेतृत्व गरेका पूर्ववन अधिकृत आचार्यले भने, ‘सामान्य गरिब समुदायभन्दा पनि हुने खाने र राजनीतिक आड भएकाहरूबाट भइरहेको अतिक्रमण रोक्न आवश्यक छ ।’ महाभारत वन क्षेत्रमा अव्यवस्थित रूपमा खोटो संकलन र चोरी सिकारी पनि प्रमुख चुनौती रहेको आचार्यले आफ्नो अध्ययनमा देखाएका छन् ।

महाभारत संरक्षणमा थुप्रै चुनौती भए पनि सम्भावना र अवसर पनि त्यत्तिकै भएको विज्ञहरू बताउँछन् । जनस्तरमा गठित महाभारत संरक्षण अभियानका अगुवा जयराज पनेरुले सरकारले अब ढिलो नगरी संरक्षित वनको स्वीकृत कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘दुई वर्षअघि गरिएको अध्ययनलाई आधार मानेर सरकारले यसको संरक्षणसँगै भएका सम्भावनाको खोजी गर्न ढिलाइ गर्नु हुँदैन ।’

कान्तिपुर दैनिकबाट…