नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा राख्ने कि शाखा मात्रै राख्ने भनेर ०७५ को साउन तेस्रो साता विवाद भयो। नगर कार्यपालिका बैठकमा सर्वसम्मत् निर्णय हुन सकेन। तत्कालीन मेयर डा. धवलशमशेर राणाले मतविभाजन गरे। ३३ कार्यपालिका सदस्यमध्ये कांग्रेसनिकट १० जनाले ‘नोट अफ डिसेन्ट’ लेखे। सरकारले उपमहानगरपालिकाभित्र सात महाशाखा स्थापना गरी उपसचिवको दरबन्दी राख्ने नीतिगत व्यवस्था गरिरहेको थियो। त्यो अवस्थामा डा। राणाले बहुमत सदस्यबाट निर्णय गराएर महाशाखा आवश्यक नपरेको व्यहोरासहितको निर्णय गराएर केन्द्रमा पत्राचार गरेका थिए।
पाँच वर्षे कार्यकालमा नेपालगन्जको कार्यपालिकामा दलगत विवाद यो मात्रै थियो। त्यसअघि र पछिका निर्णय सर्वसम्मत भए। पाँच वर्षे कार्यकालको अनुभव सुनाउँदै निवर्तमान उपमेयर उमा थापामगर भन्छिन्, ‘विकास योजनामा कुनै पनि दलको अवरोध भएन। सबै निर्णय सर्वसम्मतिका आधारमै भएका छन्।’ नेपालगन्जमा अघिल्लो निर्वाचनमा पाँच दलको मिश्रित परिणाम आयो। मेयरमा राप्रपाका डा।धवलशमशेर राणा र उपमेयरमा कांग्रेसकी उमा थापा मगर निर्वाचित भएका थिए। २३ वडा रहेको नेपालगन्जमा कुनै पार्टीको बहुमत आएन।
कांग्रेसले ८, एमालेले ६, माओवादी केन्द्रले ४, राप्रपाले ३ र जसपाले २ वडा जितेका थिए। कुनै पनि पार्टीको बहुमत नहुँदा सभा चलाउन समस्या हुनुपर्ने हो। तर, अल्पमत र बहुमतका आधारमा विकासमा अवरोध भएन। विकासको मुद्दामा सबै दल एकै ठाउँमा उभिए। निवर्तमान मेयर डा।राणा भन्छन्, ‘विकासको काममा कसैले पनि अवरोध वा असहयोग गरेनन्। बोर्डले, राजनीतिक पार्टीले, कर्मचारीले, जनताले राम्रो साथ दिनुभएको छ। वडामा गएको बजेटको सदुपयोग भएको छ। नगर स्तरीय योजना पनि राम्रो भएको छ।’
निवर्तमान नगर प्रवक्ता प्रमोद रिजाल बजेट विनियोजनमा सामान्य विवाद भए पनि छलफलबाट समाधान भएको सुनाउँछन्। भन्छन्, ‘बजेट विनियोजन गर्दा नगर प्रमुख र उपप्रमुखले नगर स्तरीय योजनालाई बढी विनियोजन गर्न खोज्नुहुन्थ्यो। वडाध्यक्षहरू वडामा बजेट बढी दिनुपर्ने माग गर्नुहुन्थ्यो। सधैं सहमतिका आधारमा टुंगोमा पुगेका थियौं।’ वडाले हरेक वर्ष ३० लाख रुपैयाँदेखि झन्डै दुई करोड बजेट पाएका थिए। ‘सुरुमा सबै वडालाई ५० प्रतिशत वडाको बजेट सिलिङ निर्धारण हुन्थ्यो। बाँकी रहेको ५० प्रतिशत बजेट जनसंख्या र वडाले उठाउने राजस्वका आधारमा निर्धारण हुन्थ्यो’, रिजाल भन्छन्।
पाँच वर्षे कार्यकालमा नेपालगन्जमा एक सय किलोमिटरभन्दा लामो कालोपत्रे सडक र नाला निर्माण भएको छ। ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने सेनेटरी ल्याडफिल साइट बनेको छ। छात्रा विद्यालय र क्याम्पस सञ्चालनमा आएको छ। अत्याधुनिक बसपार्क बनेको छ। रात्रिकालीन उज्यालोका लागि नगरमा ३८ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ। पर्यटकीय गन्तव्यका रूपमा वाटरपार्क र कान्ति तालको पुनर्निर्माण गरिएको छ।
रानी तलाउ र महेन्द्र पार्कको मर्मत सम्भार भएको छ। अत्याधुनिक नेपालगन्ज सिटी हल र सपिङ कम्प्लेक्स निर्माणाधीन छ। नगर प्रहरी छ। नगरबस सञ्चालन गरेको छ। वडाध्यक्ष निर्वाचित रिजाल भन्छन्, ‘यो निर्वाचनमा पनि दलको मिश्रित परिणाम आएको छ। विगतको असल अभ्यासलाई आत्मसात गर्न सक्यौं भने विकासमा नेपालगन्ज नमुना बनाउँछौं।’ अन्नपूर्ण पोष्ट दैनिकबाट……
