काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ । वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको वृद्धिका कारण बैंकहरूको नाफा भने बढेको देखिएको छ । तर, बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा भने कम भएको छ । बैंकहरूले सेयरधनीलाई भन्दा पनि तलब, भत्ता र अन्य प्रशासनिक खर्च बढी गरेकाले पनि करोडौं लगानी गरेका लगानीकर्ताका लागि दिइने लाभांशमा कमी आएको हो ।
बैंकहरूले प्रकाशित गरेको विवरणनुसार गत आवमा २० बैंकले ७० अर्ब १७ करोड नाफा कमाएका छन् । अघिल्लो आव २०७८÷०७९ मा बैंकहरूले ६६ अर्ब नाफा कमाएका थिए । नाफा बढे पनि लाभांश बाँड्ने क्षमता कमजोर हुँदा लगानीकर्ताहरू निराश भएका छन् । दुई बैंकको लाभांश क्षमता ऋणात्मक नै देखिएको छ भने आधा दर्जनको लाभांश क्षमता घटेको छ । हिमालयन र कुमारी बैंक लाभांश नै दिन नसक्ने अवस्थामा रहेका देखिएको छ ।
२० वटा वाणिज्य बैंकहरूको खराब कर्जा गत वर्षको असार मसान्तमा औसतमा १ दशमलव २० प्रतिशत रहेकामा अहिले २ दशमलव ७० प्रतिशत कायम हुँदा वितरणयोग्य लाभांशमा कमी आएको ठम्याइ बैंकर्सहरूको छ । बैंकहरूको विवरणनुसार सेयरमा प्रतिफल अर्थात् रिटर्न अन इक्विटी ११ दशमलव १५ प्रतिशत मात्र कायम भएको हो । अघिल्लो आवमा बैंकहरूको सेयरमा प्रतिफल औसतमा १२ दशमलव २ प्रतिशत रहेको थियो ।
अधिकांश बैंकहरूको वितरणयोग्य नाफा घटेको देखिए पनि धेरै लाभांश वितरण गर्ने क्षमता भने एभरेस्ट बैंकसँग ४० प्रतिशत रहेको रहेको छ । एभरेस्टकोे वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड रहेको छ । एनआइसी एसियाले वितरणयोग्य नाफा ३ अर्ब ७० करोड जोड्दा लाभांश बाँड्नसक्ने क्षमता ३१ दशमलव ९९ प्रतिशत रहेको छ ।
२ अर्ब ७३ करोड वितरणयोग्य नाफासहित स्ट्यान्डर्ड चार्टर्डले २८ दशमलव ९९ प्रतिशत लाभांश बाँड्नसक्ने देखाएको छ । नबिल बैंकको वितरणयोग्य लाभांश १५ प्रतिशत मात्र रहेको छ । उसको वितरणयोग्य नाफा २ अर्ब २१ करोड रहेको छ । हिमालयन बैंकको लाभांश क्षमता ५ दशमलव ४९ प्रतिशत मात्र रहेको देखिएको छ । त्यस्तै, कुमारी बैंक ३ दशमलव २४ प्रतिशतले ऋणात्मक देखिएको छ । ग्लोबल आइएमई, नेपाल बैंक, एनएमबी, सिद्धार्थ, लक्ष्मी सनराइज, प्राइम र सिटिजन्स बैंकको लाभांश क्षमता कम रहेको छ ।
कृषि विकास बैंकले २ अर्ब १ करोड वितरणयोग्य नाफा जोडेको छ । सरकारको स्वामित्वमा रहेको सो बैंकले १९ प्रतिशत नाफा दिनसक्ने देखिएको छ । २ अर्ब २१ करोड वितरणयोग्य नाफा रहेको सानिमा बैंकले पनि १७ दशमलव ५० प्रतिशतभन्दा माथि नै लाभांश दिनसक्छ । माछापुच्छे बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड रहे पनि प्राथमिक पुँजीकोष पु¥याउन नसक्दा यसपालि लाभांश वितरण गर्न नपाउनेगरी नेपाल राष्ट्र बैंकले रोक लगाएको छ ।
गत आवमा नाफा उच्च कमाउने अन्यमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया र इन्भेस्टमेन्ट मेगा बैंक छन् । प्राइम कमर्सियल र कुमारीको नाफा भने गत वर्षको तुलनामा घटेको छ । केही वर्ष अघिसम्म बैंकहरूको लाभांश वितरण क्षमता औसमा २० प्रतिशत रहेको थियो । कुमारी बैंकको वितरणयोग्य लाभांश ५ दशमलव ३१ प्रतिशत छ । यो अहिले चलनचल्तीमा रहेको बैंकहरूको ब्याजभन्दा आधा मात्रै हो । कुमारी बैंकले लगानीकर्तालाई मुद्रास्फीति र मुद्रा अवमूल्यनभन्दा पनि कमजोर हुनेगरी लाभांश कमाएर निराश बनाएको छ ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रिटर्न अन इक्विटी ७ दशमलव ३८ प्रतिशत छ भने प्राइम कमर्सियल बैंकको ७ दशमलव ९६ प्रतिशत र प्रभु बैंकको ८ दशमलव ३८ प्रतिशत रहेको छ । अर्थतन्त्रमा मन्दी आएकाले व्यवसाय नफस्टाउँदा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेपछि लाभांशमा वितरणयोग्य मुनाफा घटेको तर्क बैंकहरूको छ । आव २०७८÷०७९ मा औसत १ दशमलव १५ प्रतिशत भएको खराब कर्जा अहिले बढेर २ दशमलव ६७ प्रतिशत पुगेको छ । जसमा १ दशमलव २० प्रतिशत रहेको बैंकहरूको खराब कर्जा १ दशमलव २३ प्रतिशत बिन्दुले बढेर २ दशमलव ७० प्रतिशत पुगेको देखिएको छ ।
गत आवमा मन्दीको असर स्वरूप कर्जा असुलीमा समस्या बढेसँगै निष्क्रिय कर्जाको अनुपात ९एनपिएल० दोब्बरले बढेको छ । वाणिज्य बैंकहरूको औसत खराब कर्जा २ दशमलव ७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो अनुपात १ दशमलव २ प्रतिशत थियो । वाणिज्य बैंकहरूको खराब कर्जा शून्य दशमलव ७९ प्रतिशतदेखि ४ दशमलव ७७ प्रतिशतसम्म देखिएको छ । सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको ४ दशमलव ७७ प्रतिशत छ ।
गत आवमा सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलको नाफा अघिल्लो आवको तुलनामा ७६ दशमलव ८६ प्रतिशतले बढी हो । यसैगरी, बैंक अफ काठमान्डुलाई गाभेको ग्लोबल आइएमईले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमईको नाफा ४६ दशमलव २६ प्रतिशतले बढेको छ । राजधानी दैनिकबाट…