DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतमा र नेपालमा सुन तस्करी गर्ने समूह एउटै


  • भाद्र ९, २०८०
  • 198 Views
भारतमा र नेपालमा सुन तस्करी गर्ने समूह एउटै image

काठमाडौं ।कार्गोमार्फत ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका चिनियाँमध्ये तीनजना विगतमा भारतमा पनि यस्तै शैलीमा सुन तस्करीमा पक्राउ परी छुटेको पुष्टि भएको छ । प्रहरीले भारतीय अधिकारीसँग गरेको समन्वयमा कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन तस्करी गर्ने क्रममा उनीहरू दुई वर्षअघि नयाँदिल्लीमा पक्राउ परेका थिए ।

हाल सिआइबी हिरासतमा रहेका एलेक्स भनिने याओ पुसिङ, ली वेन र जेक्विङ ली विगतमा पक्राउ परेका हुन् । भारतीय अधिकारीहरूले यसको पुष्टि गरेको सिआइबी स्रोत बताउँछ । उनीहरूले मेसिनरी तथा धाराका सामानभित्र लुकाएर सुन तस्करी गरेका थिए ।

भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालय (डिआरआई)ले विशेष अप्रेसन चलाएर ठूलो मात्रामा सुन बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो । त्यहाँबाट छुटेपछि त्यही शैलीमा नेपालबाट पनि उनीहरूले तस्करी थालेको हुन सक्ने अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले जानकारी दिए ।

भारतको डिआरआईले सन् २०२१ मा ‘अप्रेसन मोल्टेन मेटल’ र सन् २०२२ मा ‘अप्रेसन गोल्डेन ट्रयाप’ सञ्चालन गरी ठूलो मात्रामा तस्करीको सुन बरामद गरी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । भारतमा र नेपालमा सुन तस्करी गर्ने समूह एउटै देखिएको सिआइबी स्रोत बताउँछ ।

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायत सुन तस्करीको अन्तर्राष्ट्रिय सम्पर्कबारे अनुसन्धान भइरहेको बताउँछन् । तर, पक्राउ परेका व्यक्तिहरू विगतमा भारतमा पक्राउ परेको विषयमा आफूलाई जानकारी नभएको बताए । सन् २०२१ को नोभेम्बरमा हङकङ हुँदै भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा फरक–फरक एयर कार्गोमार्फत आयात गरिएका विभिन्न मेसिनरी सामानभित्र ठूलो मात्रामा सुन भेटिएको थियो ।

ती सामानभित्र सुनको लेप लगाइएको हुन्थ्यो । यसरी तस्करी भएको साढे ८५ केजी सुन बरामद भएको थियो । यसमा दुई दक्षिण कोरियन, एक चिनियाँ र एक भियतनामकी नागरिकसहित भारतीयहरू समातिएका थिए । अप्रेसन ‘मोल्टेन मेटल’अन्तर्गत सो गिरोहलाई पक्राउ गरिएको थियो । त्यो समूहले नयाँदिल्लीका विभिन्न ठाउँमा घर भाडामा लिएर तस्करी गरिरहेको थियो । हाल नेपालमा पक्राउ परेको चिनियाँ गिरोहको पनि शैली उस्तै देखिएको छ ।

त्यस्तै, सन् २०२२ को मेमा ‘अप्रेसन गोल्डेन ट्रयाप’मार्फत साढे ६१ केजी सुन बरामद भएको थियो । त्यो पनि एयर कार्गोमार्फत धाराका विभिन्न सामानभित्र लुकाएर तस्करी हुँदै थियो । ती सामान चीनको गोन्जाओबाट लगिएको थियो । हाल नेपालमा पक्राउ परेकामध्ये केही सो सुन तस्करीमा पनि समातिएका थिए ।

हाल पक्राउ परेकामध्ये चिनियाँ मूलका दुईजनासँग भारतको रासनकार्ड समेत बरामद भएको छ । उनीहरू लामो समयदेखि भारतमा समेत बसेको प्रमाण भेटिएको छ । पक्राउ परेका चिनियाँहरू काठमाडौंमा भारतीय प्रेमिकासँगै बस्दै आएका थिए । प्रेमिकाहरूलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ । तर, सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भइसकेको छैन । जसकारण संगठित अपराधमा म्याद थप भएको छ । प्रेमिकाका लागि मात्र चिनियाँले धुम्बाराही र मण्डिखाटारमा दुई घर भाडामा लिएका थिए ।

सुन तस्करीमा संलग्न चिनियाँहरू प्रेमिका लिएर नियमितजसो क्यासिनोसमेत जाने गरेको अनुसन्धानमा खुलेको छ । भारतमा बस्दादेखि नै उनीहरू ती प्रेमिकासँग निकट भएको आशंका गरिएको छ । प्रहरीले हङकङ र चीनसँग पनि सुन तस्करीसँग सम्बन्धित विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत मगाएको छ ।

सिआइबीले पछिल्लो करिब ६० केजी सुन तस्करी प्रकरणमा २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूले काठमाडौंमा दर्जन गोदाम भाडामा लिएर लुकाउने र टोखाको कारखानामा सुन गालेर उनीहरूले बाँडफाँट गर्दै आएका थिए । त्यसमध्ये धेरै सुन भारत नै पुग्ने गरेको सूचना प्रहरीसँग छ ।

यो घटनाको अनुसन्धान सुरु भएको शनिबार डेढ महिना पुगेको छ । अबको करिब दुई साताभित्र अनुसन्धान टुंग्याउनुपर्ने बाध्यता सिआइबीलाई छ । संगठित अपराधमा सिआइबीले ६० दिनसम्म मात्र पक्राउ परेका आरोपीलाई थुनामा राख्न पाउँछ ।

पक्राउ परेका पाँच चिनियाँसँग नेपाली नागरिकता र पासपोर्टसमेत बरामद भएको छ । त्यस विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिआइजी कडायत बताउँछन् । नयाँ पत्रिका देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.