काठमाडौं ।कार्गोमार्फत ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका चिनियाँमध्ये तीनजना विगतमा भारतमा पनि यस्तै शैलीमा सुन तस्करीमा पक्राउ परी छुटेको पुष्टि भएको छ । प्रहरीले भारतीय अधिकारीसँग गरेको समन्वयमा कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन तस्करी गर्ने क्रममा उनीहरू दुई वर्षअघि नयाँदिल्लीमा पक्राउ परेका थिए ।
हाल सिआइबी हिरासतमा रहेका एलेक्स भनिने याओ पुसिङ, ली वेन र जेक्विङ ली विगतमा पक्राउ परेका हुन् । भारतीय अधिकारीहरूले यसको पुष्टि गरेको सिआइबी स्रोत बताउँछ । उनीहरूले मेसिनरी तथा धाराका सामानभित्र लुकाएर सुन तस्करी गरेका थिए ।
भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालय (डिआरआई)ले विशेष अप्रेसन चलाएर ठूलो मात्रामा सुन बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो । त्यहाँबाट छुटेपछि त्यही शैलीमा नेपालबाट पनि उनीहरूले तस्करी थालेको हुन सक्ने अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले जानकारी दिए ।
भारतको डिआरआईले सन् २०२१ मा ‘अप्रेसन मोल्टेन मेटल’ र सन् २०२२ मा ‘अप्रेसन गोल्डेन ट्रयाप’ सञ्चालन गरी ठूलो मात्रामा तस्करीको सुन बरामद गरी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । भारतमा र नेपालमा सुन तस्करी गर्ने समूह एउटै देखिएको सिआइबी स्रोत बताउँछ ।
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायत सुन तस्करीको अन्तर्राष्ट्रिय सम्पर्कबारे अनुसन्धान भइरहेको बताउँछन् । तर, पक्राउ परेका व्यक्तिहरू विगतमा भारतमा पक्राउ परेको विषयमा आफूलाई जानकारी नभएको बताए । सन् २०२१ को नोभेम्बरमा हङकङ हुँदै भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा फरक–फरक एयर कार्गोमार्फत आयात गरिएका विभिन्न मेसिनरी सामानभित्र ठूलो मात्रामा सुन भेटिएको थियो ।
ती सामानभित्र सुनको लेप लगाइएको हुन्थ्यो । यसरी तस्करी भएको साढे ८५ केजी सुन बरामद भएको थियो । यसमा दुई दक्षिण कोरियन, एक चिनियाँ र एक भियतनामकी नागरिकसहित भारतीयहरू समातिएका थिए । अप्रेसन ‘मोल्टेन मेटल’अन्तर्गत सो गिरोहलाई पक्राउ गरिएको थियो । त्यो समूहले नयाँदिल्लीका विभिन्न ठाउँमा घर भाडामा लिएर तस्करी गरिरहेको थियो । हाल नेपालमा पक्राउ परेको चिनियाँ गिरोहको पनि शैली उस्तै देखिएको छ ।
त्यस्तै, सन् २०२२ को मेमा ‘अप्रेसन गोल्डेन ट्रयाप’मार्फत साढे ६१ केजी सुन बरामद भएको थियो । त्यो पनि एयर कार्गोमार्फत धाराका विभिन्न सामानभित्र लुकाएर तस्करी हुँदै थियो । ती सामान चीनको गोन्जाओबाट लगिएको थियो । हाल नेपालमा पक्राउ परेकामध्ये केही सो सुन तस्करीमा पनि समातिएका थिए ।
हाल पक्राउ परेकामध्ये चिनियाँ मूलका दुईजनासँग भारतको रासनकार्ड समेत बरामद भएको छ । उनीहरू लामो समयदेखि भारतमा समेत बसेको प्रमाण भेटिएको छ । पक्राउ परेका चिनियाँहरू काठमाडौंमा भारतीय प्रेमिकासँगै बस्दै आएका थिए । प्रेमिकाहरूलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ । तर, सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भइसकेको छैन । जसकारण संगठित अपराधमा म्याद थप भएको छ । प्रेमिकाका लागि मात्र चिनियाँले धुम्बाराही र मण्डिखाटारमा दुई घर भाडामा लिएका थिए ।
सुन तस्करीमा संलग्न चिनियाँहरू प्रेमिका लिएर नियमितजसो क्यासिनोसमेत जाने गरेको अनुसन्धानमा खुलेको छ । भारतमा बस्दादेखि नै उनीहरू ती प्रेमिकासँग निकट भएको आशंका गरिएको छ । प्रहरीले हङकङ र चीनसँग पनि सुन तस्करीसँग सम्बन्धित विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत मगाएको छ ।
सिआइबीले पछिल्लो करिब ६० केजी सुन तस्करी प्रकरणमा २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूले काठमाडौंमा दर्जन गोदाम भाडामा लिएर लुकाउने र टोखाको कारखानामा सुन गालेर उनीहरूले बाँडफाँट गर्दै आएका थिए । त्यसमध्ये धेरै सुन भारत नै पुग्ने गरेको सूचना प्रहरीसँग छ ।
यो घटनाको अनुसन्धान सुरु भएको शनिबार डेढ महिना पुगेको छ । अबको करिब दुई साताभित्र अनुसन्धान टुंग्याउनुपर्ने बाध्यता सिआइबीलाई छ । संगठित अपराधमा सिआइबीले ६० दिनसम्म मात्र पक्राउ परेका आरोपीलाई थुनामा राख्न पाउँछ ।
पक्राउ परेका पाँच चिनियाँसँग नेपाली नागरिकता र पासपोर्टसमेत बरामद भएको छ । त्यस विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिआइजी कडायत बताउँछन् । नयाँ पत्रिका देनिकबाट…